शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कोरोनाविरुद्धको लडाईं : कस–कसलाई झुण्ड्याउने ?

निर्मल भट्टराई २०७६ चैत २२ गते १९:०१

-निर्मल भट्टराई

संसार अहिले कोरोना भाईरसविरुद्ध निर्णायक लडाईं लडिरहेछ । कोरोनाभाइरस संक्रमण सुरु भएको देश चीनले विस्तारै यसलाई विस्तारै नियन्त्रणमा लिँदैछ भने युरोप अमेरिका सबभन्दा बढी आक्रान्त छन् । ईतिहासमै यो प्रथम घटना होला जहाँ पूरै संसार ठप्प भएको होस् । बन्दाबन्दी भएको होस् ।

कोरोना नेपालमा पनि पाहुना भएर आइपुगेको छ । अध्ययन र श्रमको सिलसिलामा विदेश बसेर फर्केका केही नेपालीले कोरोनाको कोशेली बोकेर आएका छन् । नेपाल सरकारका साहसी कदमले कोरोनाको संक्रमण नियन्त्रणकै अवस्थामा छ ।

सबै तहका सरकारको सुरुदेखिकै सजगता र सतर्कताले केही समय निरन्तरता पायो भने अब यो महामारी नेपालमा थप फैलने अवस्था छैन ।

कोरोनाले अन्तर्राष्ट्रिय राजनीतिको मात्रहोईन, राष्ट्रिय राजनीतिको नियमित बाटो समेत बदलिदिएको छ । पार्टीको आन्तरिक र अन्तर पार्टी सम्बन्धमा पनि फेरबदल ल्याउने संकेत देखा परेका छन् । आर्थिक योजनाहरु रातारात परिवर्तन हुदैछन् ।

सरकार र जनताको प्रयास र सजगताले नेपालमा अहिलेसम्म कोरोना त नियन्त्रण भन्दा बाहिर गएको छैन तर नेपालको राजनीति चाहिँ अराजकतातर्फ उन्मुख होला कि भन्ने चिन्ता बढ्न थालेको छ ।

भ्रष्टाचारीलाई कडा कारवाही हुनुपर्ने सवालमा दुई मत हुनै सक्दैन । भ्रष्टाचार सम्बन्धी विषय लामो कानूनी प्रक्रियाबाट गुज्रेर फैसलामा पुग्ने विषय हो । यो कुनै राजनीतिक स्टन्टवाजीको विषय होइन ।

अहिले कसैलाई“झुण्ड्याउने” समय होइन । अहिले सबै नेपालीलाई कोरोनाको महामारीबाट बचाउने समय हो । यो महामारीबाट मुक्त भएपछि कस–कसलाई कसरी “झुण्ड्याउने” छिनोफानो हुँदै जाला ।

लकडाउनमा परेका नेता कार्यकर्ताहरु सामाजिक सञ्जालको झ्यालबाट नानाथरी आधिकारिक अनाधिकारिक विषयहरु निरन्तर बाहिर फालिरहेछन् । लकडाउनमा गुम्सिएको नेपाली राजनीतिको अनौठो हरकत बाहिर आईरहेछ ।

कोरोना नियन्त्रणमा चाहिने पीपीइलगायतका स्वास्थ्य उपकरण खरिदको विषयलाई लिएर गत हप्ताको सामाजिक सञ्जालले उखरमाउलो गर्यो ।

दुई तीन दिनमै केही मन्त्रीहरुलाई सामाजिक सञ्जालले मुद्धा सिर्जना गर्यो, अदालत पुर्यायो, फैसला गर्यो ! कोरोनाको पीडामा बसेका नेपाली जनतालाई यसले संशय मात्र पैदा गरेन, मनोरञ्जन पनि दियो ।

सामान आपूर्ति गर्ने कम्पनी ओम्नीको अपरिपक्वता र अकर्मण्यताका कारण सरकारले त्यो सम्झौतामात्र रद्द गरेन, उसले राखेका धरौटी पनि जफत गर्ने निर्णय गर्यो । र, नेपालको संविधान बमोजिम आवश्यक सामग्रीको प्रबन्ध गर्न सेनालाई जिम्मा दिने निर्णय गर्यो ।

कोरोनाविरुद्धको युद्धमा सेनाले यो जिम्मेवारी पाउनु कुनै अनौठो कुरा होइन । तर सरकारका यो निर्णयबाट पार्टीभित्र र बाहिरका“लोकतन्त्रवादीहरु”लाई औडाहा भएको छ ।

कोरोनाविरुद्धको युद्धमा सरकारलाई तोबातोबा बनोस्, राजनीतिक निर्णय र व्यवस्थापनमा अकर्मण्य सावित् हवोस् र त्यही मौका छोपेर आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने योजना रहेकाहरु तिल्मिलाउनु अस्वभाविक होइन ।

कतिले सहजै स्वीकार्न नसकेको तर एउटा अकाट्य सत्य के हो भने राजनीतिक विषयलाई सकारात्मक दिशामा पर्गेल्ने सवालमा नेकपाका प्रथम कार्यकारी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र व्यवस्थापनको सवालमा नेकपाका प्रभावशाली नेता तथा उप–प्रधानमन्त्री ईश्वर पोखरेलसँग समकालीन राजनीतिमा कसैले पनि प्रतिस्पर्धा गर्न सक्दैन ।

फेरि पनि सामाजिक सञ्जालमा सरकारविरुद्ध घनघोर आक्रमण रोकिएको छैन । छिमेकी मित्र राष्ट्र भारतले विश्वास गर्ने भनिएका डा. बाबुराम भट्टराई, रामचन्द्र पौडेल र केही नेकपाकै नेताहरुको आर्तनाद बाहिरिएको छ ।

संस्कृत साहित्यमा एउटा हरफ यहाँ स्मरण योग्य छ –स्थानभ्रष्टा नशोभन्ते दन्ता केशानखा नरा । अर्थात् दाँत, केश, नङ् र मान्छेले आफ्नो स्थान छोड्यो भने सुहाउदैन ।

लकडाउनको कहरको कारण पनि हुन सक्छ, यिनेगिनेका नेताकार्यकर्ता समेतले आफ्नो ठाउँ छोडेर टिप्पणी गरेको देखिदैछ ।

अरु त अरु नेपाल कम्युनिष्ट पार्टीका भिष्मपितामहको दर्जामा रहेका, मिडियामा विवादमा नआउने सिद्धान्त निष्ठ वरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथखनालले समेत कोरोनाविरुद्धको लडाईंमा चाहिने “सामानखरिदमा भ्रष्टाचार गर्नेलाई झुण्ड्याउने”मसलेदारअभिव्यक्ति दिएछन् ।

नेपालमा बहुदल आएदेखि नै निरन्तर कानुन बनाउने ठाँउमा विराजमान उनलाई नेपालमा कसैलाई झुण्ड्याउने कानुन नभएको हेक्का भएनछ कि ?

भ्रष्टाचारीलाई कडा कारवाही हुनुपर्ने सवालमा दुई मत हुनै सक्दैन । भ्रष्टाचार सम्बन्धी विषय लामो कानूनी प्रक्रियाबाट गुज्रेर फैसलामा पुग्ने विषय हो । यो कुनै राजनीतिक स्टन्टवाजीको विषय होइन ।

अहिले कसैलाई“झुण्ड्याउने” समय होइन । अहिले सबै नेपालीलाई कोरोनाको महामारीबाट बचाउने समय हो । यो महामारीबाट मुक्त भएपछि कस–कसलाई कसरी “झुण्ड्याउने” छिनोफानो हुँदै जाला ।

प्रतिक्रिया
सम्बन्धित