शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

देशमा सबैको चर्चा छ, एम्बुलेन्स चालकको स्वास्थ्य र सुरक्षा ओझेलमा

दैनिक नेपाल २०७६ चैत २२ गते ६:४८

काठमाडाैं, २२ चैत । रोना भाइरसका कारण एम्बुलेन्सचालक र कर्मचारीको व्यस्तता बढेको छ । बिरामीलाई अस्पताल ओसार्न उनीहरू अहोरात्र खटिएका छन् । तर, बिरामीसँगको प्रत्यक्ष सम्पर्कका कारण संक्रमणको उच्च जोखिममा रहने उनीहरूको सुरक्षा–प्रबन्ध भने फितलो छ ।

भक्तपुर अस्पतालका एम्बुलेन्सचालक कृष्णराम कोजू बिरामी तथा बिरामीका नमुना परीक्षणका लागि टेकु अस्पताल पुर्‍याउँछन् । राजधानी र राजधानीबाहिरका अस्पतालसम्म बिरामी बोक्छन् । तर, सामान्य अवस्थामा लगाइने मास्क, पन्जा र चस्माकै भरमा कुदाकुद गर्दा डर लाग्ने गरेको कृष्णराम बताउँछन् ।

‘अहिलेसम्म १० शंकास्पदको रगत र खकारको स्याम्पल लिएर टेकु अस्पताल पुगेको छु । कोरोनाका लक्षण देखिएका बिरामीलाई अस्पताल ओसार्नुपर्छ । एम्बुलेन्समा राख्दा र ओराल्दा बिरामीलाई छुनुपर्छ,’ उनले भने, ‘तर, सुरक्षा साधन नहुँदा संक्रमण हुने हो कि भन्ने डर लाग्छ । के गर्नु जसरी भए पनि जिम्मेवारी पूरा गर्नैपर्‍यो ।’

अर्का एम्बुलेन्सचालक सीताराम कोजू पनि असुरक्षित रहेर काम गर्नुपरेको गुनासो गर्छन् । ‘आराम गर्ने फुर्सद नपाएकोमा चिन्ता छैन । संकटका वेला बिरामीको सेवामा खटिनु हाम्रो धर्म नै हो । तर, सुरक्षाका आधारभूत सुविधा नै नभएपछि संक्रमण होला कि भन्ने डर लागिहाल्छ नि !’ उनले भने । सामान्य मास्क, पन्जा र चस्माबाहेक केही नभएको उनले गुनासो गरे ।

स्वास्थ्य मन्त्रालय र काठमाडौं महानगरपालिकाको संयोजकत्वमा उपत्यकाभित्र १० एम्बुलेन्स सञ्चालनमा छन् । यिनैमध्ये एक एम्बुलेन्सका चालक विकास राउत दिनमा २२ घन्टासम्म काममा खटिनुपरेको बताउँछन् । उनलाई पनि निद्रा गुमेकोमा भन्दा आफैँ संक्रमणको जोखिममा रहेकोमा चिन्ता छ ।

‘सामान्य अवस्थामा दैनिक चार–पाँच टिप गरे हुन्थ्यो । अहिले एक्लैको भागमा १२–१५ केस आउँछन् । दुई घन्टा पनि सुत्न पाइँदैन । तर, सवाल कामको भन्दा पनि सुरक्षाको छ,’ उनले भने, ‘दिनभर सामान्य अवस्थामा बिरामीको संसर्गमा रहनुपर्छ, अनि घरमा परिवारका सदस्यलाई आफैँबाट संक्रमण फैलिन्छ कि भन्ने डरले सताउँछ ।’ नयाँ पत्रिका दैनिकमा मन्जु टेलरले समाचार लेखेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित