३ कार्तिक २०८३, मंगलबार

थला परे एयरलाइन्स

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । कोरोना महामारीका कारण संसारभर सम्पर्क सञ्जाल विच्छेद भएपछि विमान कम्पनीहरू प्रत्यक्ष मारमा परेका छन्। धेरैजसो हवाई कम्पनी दुई महिनादेखि ठूलो घाटा व्यहोरिरहेका छन्। विमानस्थलको पार्किङ खर्च धान्न पनि उनीहरूलाई धौधौ छ।

विश्वको एकचौथाइ जनसंख्या यति बेला लकडाउनमा छ। कोरोना महामारी साम्य भएर आममानिस विश्वस्त भई यात्रा गर्न अझै धेरै समय लाग्ने देखिन्छ। महामारीसँग जुझिरहेका मुलुकले बाह्य उडान मात्र होइन, आन्तरिकसमेत ठप्प बनाएका छन्।

एयरलाइन्सहरूले सन् २०२० को जनवरीयता मात्रै २५२ अर्ब अमेरिकी डलर घाटा व्यहोरेको नयाँ प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आएटा)ले सार्वजनिक गरेको छ। आएटाले एयरलाइन्स कम्पनीको पुनःस्थापनामा लामो समय लाग्ने उल्लेख गरेको छ।

आएटाका अनुसार मे महिनासम्म अहिलेकै अवस्था लम्बिरहेको खण्डमा विश्वका सबैजसो विमान कम्पनी टाट पल्टिनेछन्। अमेरिकी हवाई सेवा कम्पनी अमेरिकन एयरलाइन्सले यसका कर्मचारीको रोजगारी संरक्षणका लागि भन्दै सरकारसँग १२ अर्ब डलर सहायता माग गरेको छ।

संसारको सबैभन्दा ठूलो एयरलाइन्स कम्पनीले सरकारसँग सेप्टेम्बर ३० सम्म ६ अर्ब डलर अनुदान र बाँकी ६ अर्ब ऋणमा माग गरेको हो। अमेरिकी सरकारले २० खर्ब डलरको राहत प्याकेजमध्ये ५० अर्ब डलर एयरलाइन्स कम्पनीको उत्थानका लागि छुट्याएको छ। हवाई यातायातलाई प्राथमिकतामा राखेको अमेरिकाका सबै आन्तरिक विमान कम्पनीले कोरोना महामारी सुरु भएयता ठूलो घाटा व्यहोर्दै आएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।