शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

आफूलाई लकडाउन नगरौँ

एसपी उप्रेती २०७६ चैत १७ गते १५:५८

-एसपी उप्रेती
काठमाडौँ । अहिले विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण तीव्रत्तर फैलन नदिनविश्वका देशहरुले लकडाउन गरेका छन् ।

लकडाउनपछि अनावश्यक भीड नियन्त्रण हुन्छ फलत विश्वव्यापी स्वास्थ्य संकट निम्त्याएको कोरोनाको फैलावट नियन्त्रणमा सहयोगी भूमिका खेल्दछ ।

यो अकल्पनीय र अनेपेक्षित रुपमा उत्पन्न घटनाले पुरा विश्वलाई तरंगित तुल्याएको छ । मानिसहरु त्रासदी र सन्देहमा बाँचिरहेका छन् । यसैबीच अफवाह तथा भ्रामक समाचारहरुले झनै डर र त्रास पैदा गरेको छ ।

नेपालमा पनि कोरोनाको संक्रमणको थप जोखिमलाई ध्यानमा राखेर सरकारले यही चैत ११ गतेदेखि पहिलो चरणको लकडाउन गरेको छ । यो अवधि थप ८ दिनका लागि बढेको छ ।

जहाँ अत्यावश्यक बाहेकका सम्पूर्ण सवारी साधनदेखि पसल बन्द तथा कुनै पनि किसिमको जमघट वा भीडाभाड नियन्त्रण गरिएको छ । यो विशेष तथा विषम परिस्थिति हो ।

यससँग लड्न सरकारले चालेको कदम विलकुलै सह्रानीय छ । यसको पूर्ण पालना गरेर आफू स्वस्थ रहनु नै देशको निम्ती ठूलो योगदान हो भन्ने हामीले बुझ्नु आवश्यक छ । अब रह्यो कुरा लकडाउनमा हामी के गर्दछौँ त ?

लकडाउन भनेको बाहिरी संसार हो । यसले हामीलाई धेरै हदसम्म निर्देशित गर्दछ । यद्यपि हाम्रो आन्तरिक प्रस्फुटनका निम्ती लकडाउन एक अवसर सावित हुन सक्छ । परिवार सँगको घुलमिल, सँगै हुनुको बेग्लै महसुसले हामीलाई थप अघि बढ्न प्रेरणाको काम गर्दछ ।

हामीलाई थाहा नहुन सक्छ सबै बाहिरी सम्भावनाहरु बन्द हुँदा नै आन्तरिक वा अध्यात्मिक सम्भावनाको द्धार खुल्ने गर्छ । यहाँ त्यसो भन्न सकिन्छ । लकडाउनले बाहिरी वातावरणसँगको संसर्ग टुटाएको छ ।

तर आफैँभित्रको आन्तरिक महासागरमा डुबुल्की मार्न भने एक सेतुको काम पनि गरेको छ । अति व्यस्तताका बाबजुद मानिसहरु अहिले आफ्नो वास्तविक रुचि पत्ता लगाउन सकिरहेका छैनन् ।

अहिले व्यापार व्यवसाय, जागिर सबै बन्द भएको अवस्थामा आफूलाई के के मनपर्छ भनेर गौर गर्न सकिन्छ । जस्तै कि आफूलाई कस्ता फिल्महरु मन पर्छन् ।

कस्ता गीत मन पर्छन् ? कस्ता पुस्तकहरुमा आफ्नो मन अडिन्छ ? के आफूलाई विशेष राख्ने केही परिकार छन् कि ?लगायतबारे चिन्तन मनन गर्न सकिन्छ । यी सबै गर्नाले हामी साँच्चै जीवित अनि सक्रिय छौँ भन्ने आभास दिलाउँछ ।

त्यस्तै, शारीरिक तन्दुरुस्तीका लागि व्यायाम, योग, ध्यान आदि गर्न सकिन्छ । यसले हामीभित्रको सम्भावना तथा रुचिहरुको द्धार खुलाउन मद्दत पुर्याउँछ ।

म के हुँ ? को हुँ ? किन हुँ ? मेरा लक्ष्यहरु के के हुन् ? मेरा निम्ती खुशीका स्रोतहरु के के हुन् ? मेरा लागि जीवनमा महत्वका व्यक्तिहरु को को हुन् ?

त्यस्तै, शारीरिक तन्दुरुस्तीका लागि व्यायाम, योग, ध्यान आदि गर्न सकिन्छ । यसले हामीभित्रको सम्भावना तथा रुचिहरुको द्धार खुलाउन मद्दत पुर्याउँछ ।

म के हुँ ? को हुँ ? किन हुँ ? मेरा लक्ष्यहरु के के हुन् ? मेरा निम्ती खुशीका स्रोतहरु के के हुन् ? मेरा लागि जीवनमा महत्वका व्यक्तिहरु को को हुन् ?

यस्ता विषयहरुको मन्थनले तपाइको आफूले टेकेको धरातलको एहेसास प्रदान गर्दछ । यी सबैको केही न केही अन्तर जवाफले हामीलाई अघि बढ्न प्रेरित गर्दछ ।

परिस्थितिहरु जस्तो होस् आफ्नो मनस्थितिलाई नतिजा उन्मुख बनाउनतर्फ उत्प्रेरित हुन आवश्यक छ । जीवनका आयामहरुलाई नजिकबाट नियाल्न पनि लकडाउन एक महान अवसर हुन सक्छ ।

हामीले आजसम्म सामान्यतया हाम्रो बाँच्ने शैलीमा केवल बाहिरी भौतिक दुनियाँलाई साथी बनाएका छौँ । जस्तै कि मोबाइल, ल्यापटप, सोसल नेटवर्क आदि ।

यो निकै हदसम्म आवश्यक छ पनि । तर अन्तरशक्ति प्रस्फुटन तथा स्वजागरणको लागि भने अन्तरयात्रा नै निर्विकल्प उपाय हो ।

यसअघि हामीसँग कार्य व्यस्तताको चापको, समयको अभावले गाँजिरहेको बाहना हुन्थ्यो । तर अब केही दिनका लागि त्यस्तो कथन छैन । तसर्थ, हामी आत्म मुल्यांकन तथा जागरणको लागि काम गर्न सक्छौँ ।

यो विषम परिस्थितिमा हामीले सरकारका कदमलाई पालना गरेर आफू स्वस्थ रहेर आफ्नो आन्तरिक क्षमता पहिचान तथा प्रस्फुटन गर्ने तर्फ अघि बढौँ ।

अन्त्यमा, हामीले बुझ्नुपर्ने कुरा चाँही लकडाउन बाहिरी अवस्था हो । यसले हाम्रो भौतिक जीवनलाई निश्चित रुपमा प्रभाव पार्दछ । तर हाम्रो आन्तरिक विचार, संरचना जीवित राख्न सक्रियताको खाँचो छ ।

शारीरिक स्फुर्तिका लागि र मानसिक उत्थानका निम्ती तपाइ खुल्ला रहन जरुरी छ । त्यसैले, संसार लकडाउन छ । आफूलाई खुल्ला राखौँ । आफूलाई लकडाउन नगरौँ ।

प्रतिक्रिया
सम्बन्धित