मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

सिन्धुपाल्चोकमा पूर्वमन्त्री बस्नेतलाई सहयोग वितरणमा अवरोध

दैनिक नेपाल २०७६ चैत १७ गते ९:३७

काठमाडौं, १७ चैत । सिन्धुपाल्चोकमा प्रहरी र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक  नेताले कोरोना भाइरसको संक्रमण रोक्न उपयोग गरिने सामग्रीहरू वितरणमा नेपाली कांग्रेसलाई अबरोध गरेका छन् ।

सोमबार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा स्थानीय प्रहरीले माथिको आदेश भन्दै कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको राहतका सामग्री बोकेका गाडीलाई रोकेको हो । कांग्रेसका नेता बस्नेतले सोमबार स्वास्थ्यकर्मीले उपचारका क्रममा प्रयोग गर्ने व्यक्तिगत सुरक्षामा लगाउने सामग्री ‘पीपीई’ वितरण गर्न नदिएको बताए ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले एक हप्तादेखि स्थानीयलाई खाद्यान्न वितरणदेखि कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायका विषयमा जनचेतना फैलाउँदै आएको छ । सो अभियानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बस्नेत आफै सक्रिय रुपमा खटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले कोरोना भाइरसविरुद्ध प्रयोग हुने सामग्री वितरणमा आफूले रोक नलागाएको बताए । ‘मोहन बस्नेत र नेपाली कांग्रेसलाई कोरोना भाइरसको संक्रमण रोगको विरुद्ध प्रयोग हुने सामग्री वितरणमा रोक लगाइएको छैन’, उनले भने, ‘जिल्ला दैविक प्रकोप उद्धार समितिले दुई दिन अगाडि एकद्वारबाट राहत विरतण गर्ने निर्णय भने भएको छ ।’

स्रोतका अनुसार सभामुख अग्नि सापकोटाका भतिजा माधव सापकोटा ‘सुवोध’ले राजनीतिक र प्रशासनिक ‘पावर’ लगाएर कांग्रेसले वितरण गरेको सामग्रीहरू रोक्न लगाएका हुन् । सापकोटाले कांग्रेसलाई सामग्री दिने व्यापारी र व्यक्तिहरूलाई फोन गरेर धम्काइ सहयोग नगर्ने दवाव दिएको आरोप छ ।

नेकपाका नेता सापकोटाले कांग्रेस नेता बस्नेतले लकडाउनका बेला सरकारको निर्देशनलाई उल्लंघन गरेको आरोप लगाए । ‘हामीले लकडाउनलाई उल्लंघन नगर्ने भनेका हौँ । धम्काएका छैनौँ’, उनले भने, ‘कांग्रेसका नेताहरूले वितरण गरेको सामग्रीको गुणस्तरका विषयमा जिज्ञासा राखिएको हो । ती सामग्री कहाँबाट र कसरी आए भनेर व्यापारीहरूलाई सोधिएको हो ।’ एकद्वार प्रणालीबाट वितरण गर्ने ज़िल्लाको निर्णय हुँदाहुँदै बस्नेतले जबर्जस्ती गरेको उनले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले सहयोग सामग्रीहरू तिवरणका लागि स्थानीय प्रशासनसँग दुई वटा गाडीको पास समेत लिएका छन् । सहायता सामग्री विरतणमा रोक लगाउन बाह्रबिसेमा ठूलो संख्यामा प्रहरी उपस्थित भएको छ ।

नेपाली कांग्रेसका नेता बस्नेतले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा पर्ने स्वास्थ्य केन्द्रहरूमा क्वारेन्टाइन बनाउनका लागि बेड र आवश्यक सामग्रीहरू वितरण गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित