शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

चीनबाट ल्याइएका स्वास्थ्य सामग्री प्रदेश–प्रदेशमा पठाइने

दैनिक नेपाल २०७६ चैत १७ गते ७:३१

काठमाडौं, १७ चैत । नेपाल सरकारले विभिन्न कम्पनीबाट खरिद गरेका र चिनियाँ दूतावासलगायत संघसंस्थाबाट अनुदान सहयोगमा प्राप्त स्वास्थ्य सामग्री प्राप्त गरेको छ। ती स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा पठाउने भएको छ।

ती सामग्री आइतबारै सातै प्रदेशका विभिन्न २५ ठूला अस्पतालमा पठाउने तयारी भए पनि समय अभावका कारण सोमबार मात्र पठाइने मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले खरिद गरेका र चिनियाँ विभिन्न संस्थाबाट अनुदान सहयोगमा दिइएका त स्वास्थ्य सामग्री आइतबार काठमाडौं आइपुगेको जानकारी मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिए।

काठमाडौंस्थित चिनियाँ दूतावास, चीनको सिचुवान प्रान्त, अलिबाबा फाउन्डेसन, ज्याक्मा फाउन्डेसन, सिएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड, सिचुवान होन्सी ग्रुप र होन्सी सिमेन्ट कर्पोरेसन लिमिटेडले १० करोड रुपैयाँबराबरका विभिन्न सामग्री अनुदान सहयोगमा नेपाल सरकारलाई उपलब्ध गराएका हुन्। अनुदान सहयोगमा प्राप्त सामग्री आइतबार नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छीले स्वास्थ्य राज्यमन्त्रीलाई हस्तान्तरण गरिन्।

मन्त्रालयका प्रवक्ता देवकोटाले सरकारले चीनबाट खरिद गरेका पिपिईलगायत स्वास्थ्य सामग्री पनि आइतबारै जहाजबाट आएको जानकारी दिए। ती स्वास्थ्य सामग्रीमा पिपिइ, सर्जिकल मास्क र डिस्पोजेबल मास्क, कोरोना परीक्षण उपकरण तथा रिएजेन्ट, किट्स, चश्मालगायत छन्।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार नेपालले यस्ता सामान चीनबाट फेरि पनि ल्याउनेछ। दोस्रो पटक सामान लिन मंगलबार र तेस्रो पटक सामान लिन अप्रिल ३ मा जहाज चीन जानेछ।

श्रेष्ठले विश्व बजारमा पिपिई सामग्री अभाव भएकाले सीधै ठेकेदारमार्फत ल्याउँदा केही महंगो परेको प्रष्टीकरण दिए। उनका अनुसार केही महिना पहिलाको तुलनामा १५ प्रतिशत बढी महँगो पर्न गएको छ। उनले सामान खरिदमा भ्रष्टाचार नभएको दाबी गरे। उनले भने, ‘हामीले खरिद गरेका सबै सामग्रीको बिल तथा अन्य सूचना वेबसाइटमा राख्छौं, सबै काम पारदर्शी हुन्छ।’ नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित