बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

लकडाउनले वायु प्रदूषण ह्वात्तै ‘डाउन’

दैनिक नेपाल २०७६ चैत १७ गते ७:२८

काठमाडौं, १७ चैत । कोरोना भाइरसको संक्रमण रोक्न गत मंगलबारदेखि देश लकडाउनमा छ। यसले घरभित्रै बस्नुपर्दा जनजीवन कष्टकर र चुनौतीपूर्ण बन्दै गएको छ।

तर यो असहज परिस्थितिले राजधानी काठमाडौंको वायुको गुणस्तरमा भने ऐतिहासिक सुधारको मौका दिएको छ। सधैंजसो प्रदूषणको सरदर स्तर जनस्वास्थका लागि हानिकारक भइरहने राजधानी हिजोआज ऐतिहासिक रुपमा स्वच्छ भएको छ, वायु प्रदूषण ह्वात्तै घटेको छ।

यसको प्रमुख कारण लकडाउनका बेला गाडी नचल्नु, राजधानीमा रहेका कलकारखाना बन्द हुनु र गत शुक्रबारसम्म सक्रिय रहेको पश्चिमी वायुले काठमाडौं खाल्डोको प्रदूषण बढारेर उपत्यकाबाहिर लग्नु भएको विज्ञ बताउँछन्।

आइतबार २ बजे रत्नपार्कको पिएम २.५ को स्तर ४ दशमलव १४ माइक्रोग्राम प्रतिघनमिटरमा झरेको थियो भने शनिबार दिउँसो ३ बजे काठमाडौंको फोहोरा दरबारमा पिएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटर थियो। यो स्तर काठमाडौंको वर्षभरिको औसत वायु प्रदूषणभन्दा करिब १० गुणाले कम हो र विश्व स्वास्थ संगठनको तोकेको मापदण्डभन्दा आधा कम हो।

प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यास भएका सूक्ष्म कणहरुलाई पिएम २.५ रुपमा मापन गरिन्छ। सन् २०१२ को राष्ट्रिय वायुको गुणस्तर मापन निर्देशिकाले पिएम २.५ मापन गर्दा प्रतिघनमिटर वायुमा ४० माइक्रोग्राम पिएम २.५ सूक्ष्म कणहरु भएमा स्वच्छ हावा भनेर तोकेको छ। विश्व स्वास्थ्य संगठनले पिएम २.५ मापन गर्दा प्रतिघनमिटर वायुमा १० माइक्रोग्राम सूक्ष्म कणहरु हुनुपर्ने मापदण्ड तोकेको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु वासी शनिबारदेखि पश्चिमी वायुको प्रभाव नरहेको तर स्थानीय प्रभावका कारण मेघ गर्जन, हावा चल्ने र पानी पर्ने गरेको बताउँछिन्। उनले राजधानीको प्रदूषण पश्चिमी वायुले बढारेर लग्दा पनि यसअघि यो स्तरमा नघटेको बताउँदै मूल रुपमा लकडाउनले गाडी तथा कलकारखाना बन्द भएकाले वायु यति धेरै स्वच्छ हुन पुगेको जानकारी दिइन्।

लकडाउनका कारण वायु प्रदूषणको स्तरमा संसारका अन्य सहरमा पनि निकै सुधार देखिएको वातावरणविद् भूषण तुलाधर बताउँछन्। ‘भारतको नयाँ दिल्ली संसारकै अति प्रदूषित सहर मानिन्छ। त्यहाँ पनि पछिल्ला दिनमा वायु प्रदूषणमा निकै सुधार आएको छ’, उनले भने। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित