शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बिरामी हेर्न अस्वीकार गर्दै निजी अस्पताल, उपचार नगरे कारबाही गर्नुपर्छ

दैनिक नेपाल २०७६ चैत १६ गते ८:४८

काठमाडौं, १६ चैत । भोजपुरको पौवादुम्मा गाउँपालिकाका ६७ वर्षीय दुर्गाप्रसाद रिजाललाई ज्वरो आएपछि शुक्रबार रातारात एम्बुलेन्समा हालेर विराटनगरस्थित नोबेल अस्पताल पुर्‍याइएको थियो। नोबेल अस्पतालले ज्वरोका बिरामी नहेर्ने भन्दै उनलाई एम्बुलेन्सबाट झार्न नदिई फिर्ता गरिदियो। नोबलले फिर्ता गरेपछि उनको परिवारले नजिकैको न्युरो अस्पताल पुर्‍यायो तर न्युरोले पनि नोबेलले जस्तै भर्ना लिन मानेन।

बिरामी दुर्गाका भाइ शिव रिजालका अनुसार नोबेल र न्युरोले बिरामी लिन नमानेपछि कोसी अञ्चल अस्पताल लगेर भर्ना गरियो। कोरोनाको आशंका गर्दै निजी अस्पतालले हेर्न अस्वीकार गरेका रिजाललाई कोसी अस्पतालमा चेकजाँच गर्दा कोरोनाको कुनै लक्षण देखिएन। अहिले ठिक भइसकेकाले घर लाने तयारी भइरहेको उनले नागरिकलाई बताए।

विराटनगरस्थित नोबेल र न्युरोले मात्र होइन, काठमाडौंका अधिकांश निजी अस्पताल कोरोना भाइरस सन्त्रास फैलिइरहेको अवस्थामा सामान्य ज्वरोका बिरामीसमेत हेर्न हच्किएका छन्। अन्य बेला राज्यलाई महत्वपूर्ण योगदान दिएको दाबी गर्ने निजी अस्पतालले स्वास्थ्यमा संकट आएको अवस्थामा विभिन्न बहाना देखाउँदै सामान्य ज्वरोका बिरामीसमेत हेर्न नमानेका हुन्।

जी अस्पतालले सरकारले पिपिईलगायत अन्य सामग्रीको व्यवस्थापन गरिदिए मात्र आफूहरूले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएर आएका बिरामी अस्पतालमा राखेर उपचार गर्न सकिने अडान लिँदै आएका छन्। ज्वरोसहित कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीलाई भर्ना लिन नमानेको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका केही प्रतिष्ठित निजी अस्पतालसँग स्पष्टीकरण नै सोधेको छ। मन्त्रालयले कोरोनाका बिरामीको उपचार गर्न नमानेको विषयमा काठमाडौंमा सञ्चालित निजी अस्पतालहरू ग्रान्डी इन्टरनेसनल र अल्का अस्पतालसँग स्पष्टीकरण मागेको हो।

ग्रान्डी इन्टरनेसनल अस्पतालका मेडिकल निर्देशक चक्रराज पाण्डेले सार्वजनिक रूपमै कोरोना भाइरसका बिरामीको उपचार गर्न नसक्ने अभिव्यक्ति दिएको विषयमा मन्त्रालयले उनीसँग स्पष्टीकरण मागेको थियो। ग्रान्डीका निर्देशक पाण्डेले मंगलबार स्वास्थ्य मन्त्रालयमा गएर लिखित स्पष्टीकरण पेस गरिसकेका छन्। स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीका अनुसार उनले पेस गरेको स्पष्टीकरणमा आफूहरूसँग कोरोना भाइरसको उपचारका लागि तालीमप्राप्त र दक्ष जनशक्ति तथा पर्याप्त स्रोतसाधन नरहेको आशयको जवाफ दिएका छन्।

स्वास्थ्य मन्त्रालयसमक्ष पाण्डेले सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएको मन्त्रालयका एक अधिकारीले बताए। त्यस्तै मन्त्रालयले अल्का अस्पतालका प्रमुख कुमार थापासँग पनि कोराना भाइरसको आशंकामा भर्ना हुन आएका बिरामीलाई उपचार गर्न आनाकानी गरेको विषयमा मन्त्रालयले लिखित स्पष्टीकरण सोधेको छ। ग्रान्डी, अल्कालगायत अस्पतालले भने कारोना भाइरसका लागि तालीमप्राप्त जनशक्ति, व्यक्तिगत सुरक्षाका सामग्री (पिपिई) लगायत अन्य सामग्री आफूहरूसँग नभएको कारण देखाउँदै ज्वरो आएर भर्ना हुन आएका बिरामीलाई फिर्ता पठाएपछि आलोचनासमेत भएको छ। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित