३ कार्तिक २०८३, मंगलबार

डिस्चार्जपछि पनि १४ दिन आइसोलेसनमा बस्न सुझाव

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, १६ चैत । कोभिड-१९ को उपचारका लागि निश्चित पद्धति र भ्याक्सिनको निक्र्याेल नभएको अवस्थामा नेपाल र चीनका स्वास्थ्यकर्मीले रोगको उपचार र रोकथामका विषयमा एकअर्काका अनुभव तथा तयारीबारे छलफल गरेका छन्।

‘नेपाल–चीन कोभिड १९ महामारी रोकथाम र नियन्त्रण अनलाइन सञ्चार तथा अदानप्रदान सम्मेलन’ शीर्षकमा शनिबार भिडियो कन्फरेन्स आयोजना भएको हो।

रेन्बो भोलेन्टियर क्लब, पिसल्यान्ड फाउन्डेसन, अरनिको सोसाइटी र गान्सु रेन्बो पब्लिक वेलफेयर सोसाइटीले संयुक्तरुपमा आयोजना गरेको छलफलमा चिनियाँ चिकित्सकले कोभिड १९ को उपचार र नियन्त्रणमा आफ्ना अनुभव सुनाएका थिए भने नेपाली चिकित्सकले चिनियाँ उपचार विधि र रोकथामबारे जिज्ञासा राखेका थिए।

गत डिसेम्बर अन्त्यमा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस संक्रमणले त्यस मुलुकमा हालसम्म तीन हजार दुई सय ९५ जनाको ज्यान लिइसकेको छ भने ९४ हजार मानिस संक्रमित छन्। पछिल्ला दिनमा चीनमा कोरोना संक्रणमा व्यापक गिरावट आएको छ। नेपालमा शनिबारसम्म पाँचजनालाई संक्रमण पुष्टि भएको छ। तीमध्ये एकजनालाई निको भइसकेको छ भने चारजना उपचारका क्रममा छन्।

छलफलमा सांघाईको मिनहाङ डिस्ट्रिक्टस्थित टेडिसनल चाइनिज मेडिसिन हस्पिटलको इमरजेन्सी वार्डका फिजिसियन डा. लिउ झाउलुले कोरोनाका बिरामी अस्पतालबाट डिस्चार्ज भएपछि पनि १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने बताए।

‘डिस्चार्ज भएको दोस्रो र चौथो सातामा बिरामीको फलोअप आवश्यक छ’, उनले भने। चीनमा संक्रमणको दोस्रो लहर आउने सम्भावना नरहेको पनि उनले बताए। पछिल्ला दिनमा चीनमा भेटिएका संक्रमित सबै बाहिरबाट आएका अर्थात् आयातित रहेको पनि उनको दाबी थियो। नागरिक दैनिकले खबर छापेकाे छ ।