काठमाडाैं, १५ चैत । धनगढीमा कोरोना संक्रमित चौथो व्यक्ति भेटिएपछि देशका अरु ठाउँमा पनि संक्रमित हुन सक्ने भन्दै उच्च सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइरहेका ३४ वर्षका पुरूषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएकाले देशका अरु ठाउँमा पनि संक्रमित हुन सक्ने देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
उपत्यकाबाहिर पनि कोरोना सस्ंक्रमित पुष्टि भएकाले विशेषगरी विदेशबाट आएका सबैजनालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आग्रह गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ४४ जनाको गरी अहिलेसमम ८ सय २ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा एक जना उपचारपछि निको भएका छन् ।
अरु दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा र एक जनाको प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
हाल काठमाडाैं र ललितपुरका तीन वटा अस्पतालमा १३ जनाको आइसोलेसनमा उपचार भैरहेको छ भने ११ जनालाई डिस्चार्ज गरिएको छ ।
ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालमा ६ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ४ जना तथा कान्ति बाल अस्पतालमा ३ जना गरि १३ जनाको आइसोलेसनमा उपचार भैरहेको छ ।
कान्ति बाल अस्पतालबाट ६ जना र टेकुबाट ५ जना गरि ११ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ ।











प्रतिक्रिया