शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

स्वास्थ्य मन्त्रालयमा राजनीति : भाइरस विशेषज्ञसहितका डाक्टरलाई मन्त्रालय तानेर कामविहीन बनाइयाे

दैनिक नेपाल २०७६ चैत १५ गते ७:४४

काठमाडाैं, १५ चैत । कोरोना संक्रमितको उपचारमा जनशक्ति अभाव भएको भन्दै सरकारले डाक्टर, नर्ससहित दुई सय ५६ स्वास्थ्यकर्मी करारमा भर्ना गर्न विज्ञापन गरेको छ । तर, अपेक्षाअनुसार आवेदन नपरेको भन्दै चिन्ता जनाइरहेको छ । दुर्भाग्य, हाजिर मात्रै गरेर तलब खाइरहेका विशेषज्ञ चिकित्सकसहित पाँच सय स्वास्थ्यकर्मीलाई काममा खटाउनेतर्फ भने सरकारले कुनै चासो देखाएको छैन ।

समायोजन नमिलेर जगेडामा राखिएका यी स्वास्थ्यकर्मी देशमा विपत् आइलाग्दा पनि कामविहीन छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय केहीलाई विभिन्न हेल्प डेस्कमा परिचालन गरिए पनि अधिकांश फुर्सदिला छन् ।

स्वास्थ्य मन्त्रालयमै विशेषज्ञ चिकित्सकसहित २२ स्वास्थ्यकर्मी फाजिलमा छन् । विशेषज्ञतर्फ एघारौँ तहका महमद दाउद र डा. राधिका थपलिया तथा दशौँ तहका डा. पवनकुमार शाह र डा. श्रवणकुमार मिश्र हाजिर मात्रै गर्छन् । त्यस्तै, नवौँ तहका डा. प्रज्ज्वल श्रेष्ठ, डा. नीलम ठाकुर, डा. रवीन्द्र रेग्मी, डा. सुमित अग्रवाल र डा. सन्ध्या जोशी पनि कामविहीन छन् ।

जब कि मन्त्रालयले १० चैतमा गरेको विज्ञापनमा नवौँ तहका जनरल फिजिसियन सातजना मागेको छ । त्यस्तै, नवौँ तहका एनेस्थेसियोलोजिस्ट सातजना, आठौँ तहका मेडिकल अधिकृत २० जना, पाँचौँ तहका स्टाफ नर्स सयजना गरी एक सय ३४ स्वास्थ्यकर्मी मागेको छ । आवेदनको म्याद सात दिन राखेकोमा पाँच दिनसम्म चिकित्सकको आवेदन परेको छैन । मन्त्रालय स्रोतका अनुसार नर्सका लागि ५० जति आवेदन मात्रै परेको छ ।

मन्त्रालयका कर्मचारी प्रशासन शाखाका सहसचिव रघुराम विष्टले फाजिलका केही स्वास्थ्यकर्मी सम्पर्कमै नरहेको नयाँ पत्रिकालाई बताए । उनीहरू प्रदेश र स्थानीय तहमातहत रहेको उनको भनाइ छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले फाजिलका तीन सयभन्दा बढी स्वास्थ्यकर्मी सम्पर्कबाहिर रहेको बताए । करिब दुई सयलाई भने देशभरका हेल्प डेस्कमा परिचालन गरिएको उनको भनाइ छ । उनका अनुसार सम्पर्कबाहिर रहेकाहरू चौथो, पाँचौँ, छैटौँ र सातौँ तहका छन् । जब कि विभागले पनि यी तहका समेत ७८ स्वास्थ्यकर्मी माग गर्दै ११ चैतमा विज्ञापन आह्वान गरेको छ । नवौँ तह एनेस्थेसियोलोजिस्ट चारजना, नवौँ तह चिकित्सक (एमडी क्रिटिकल केयर/एमडी इन्टरनल मेडिसिन) चारजना, आठौँ तह मेडिकल अधिकृत १६ जना, सातौँ तह नर्सिङ अधिकृत चारजना र पाँचौँ तह स्टाफ नर्स ५० जना मागेको छ । विभागले सात दिनको म्याद दिएकोमा हालसम्म नगन्य आवेदन परेको छ । ‘अपेक्षाअनुसार दरर्खास्त आएको छैन,’ महानिर्देशक श्रेष्ठले भने, ‘यो वेला दर्खास्त दिनुपर्ने थियो, तर दिएनन् ।’

देशको एक मात्रै सरुवारोग अस्पताल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले पनि तीन महिनाका लागि भन्दै करारमा ४४ स्वास्थ्यकर्मी मागेकोमा अपेक्षाअनुसार आवेदन परेको छैन । पाँच दिन समय दिएर ९ चैतमा विज्ञापन खोलिएको टेकुमा सोचेअनुसार आवेदन नपरेपछि चिन्तित बनाएको स्रोतले बतायो ।

टेकुले नवौँ तह कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट ६ जना, आठौँ तह मेडिकल अधिकृत आठजना, सातौँ तह नर्सिङ अधिकृत चारजना र पाँचौँ तह स्टाफ नर्स २६ जना मागेको थियो ।

अपेक्षाअनुसार आवेदन नपरेपछि अब स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिमा पढेका चिकित्सक र नर्सहरू खटाउने विकल्प सोचेको छ । विभागका महानिर्देशक श्रेष्ठले देशभर चिकित्सक र नर्सको अवस्था हेरेर काठमाडौं तानिने पनि बताए । तर, संक्रमण फैलिँदा काठमाडौंबाहिर झन् भयावह हुन सक्ने भएकाले सरकारको यो नीति प्रभावकारी देखिँदैन । नयाँ पत्रिका दैनिकमा पत्रकार अर्जुन अधिकारीले समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित