बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

क्‍वारेन्टाइनबाट धमाधम भाग्दै, घर फर्केको सूचना दिनेलाई नगद

दैनिक नेपाल २०७६ चैत १४ गते ७:३३

काठमाडौं, १४ चैत । भारतबाट फर्किएपछि क्वारेन्टाइनमा राखिएकाहरू धमाधम भाग्न थालेका छन् । बसिरहेकाहरूले पनि घर जान दिनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका छन् । आफन्तलाई क्वारेन्टाइनमा राखेको भन्दै कतिपय ठाउँमा स्थानीय बासिन्दाले स्वास्थ्यकर्मीमाथि नै कुटपिटसमेत गरेका छन् ।

बैतडीको पाटन नगरपालिका–९ को विद्यालयमा राखिएका सात जना क्वारेन्टाइनबाट बुधबार एकैसाथ भागेका छन् । एक्लै भएको मौका छोपेर भागेका उनीहरूलाई सम्पर्कमा ल्याउन गाह्रो भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । सुर्नया गाउँपालिकाको एक विद्यालयमा राखिएका एक जना पनि बिहीबार बिहानै भागेका छन् । अन्य पालिकाले भने कसैलाई पनि क्वारेन्टाइनमा राखेका छैनन् ।

पुरचौडी नगरपालिका–५, कुवाकोटस्थित भूमिराज मावि काटै गहताडको क्वारेन्टाइनमा ड्युटी खटिएका स्वास्थ्य चौकीका अहेव करनसिंह धामी बुधबार राति कुटिएका छन् ।

क्वारेन्टाइनमा आफन्तलाई किन राखेको भन्दै स्थानीय नरेन्द्र जागरीले उनीमाथि कुटपिट गरेका हुन् । बुधबारै भारतबाट फर्केका सात जनालाई विद्यालयमा राखिएको थियो ।

जागरीले राति कोठाभित्र जबर्जस्ती पसेर गाली गर्दै धामीलाई कुटेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी डिल्लीनारायण पाण्डेयले बताए । जागरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्यकर्मीलाई सामान्य चोट लागेको उनले जनाए । नगरपालिकाले विज्ञप्ति प्रकाशित गरेर स्वास्थ्यकर्मी कुट्नेमाथि कारबाही माग गरेको छ ।

करिब तीन सातादेखि बिहीबारसम्म बैतडीको प्रमुख नाका झुलाघाटसँगै तल्लो स्वराड क्षेत्रको पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका विभिन्न घाटमा डुंगा र ट्युब तरेर घर फर्कनेको संख्या २ हजार ५ सय १४ पुगेको जिल्ला प्रहरी प्रवक्ता इन्स्पेक्टर किसन चन्दले बताए । नाका बन्द भएपछि सोमबारयता ३५७ जना जिल्ला प्रवेश गरेका छन् । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित