३ कार्तिक २०८३, मंगलबार

युरोपमा फसेका नेपालीलाई सहयोग गर्न अपिल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । बिना भिसा युरोपेली मुलुकमा बसेका नेपालीलाई सहयोग गर्न सरकारले ईयू राष्ट्लाई पत्राचार गरेको छ। दूतावासमार्फत कूटनीतिक नोट पठाउँदै सरकारले महामारीको समयमा सहयोग गर्न औपचारिक आग्रह गरेको हो।

स्पेन, पोर्चुगल, इटाली, जर्मनी, बेल्जियम र स्वीट्जरल्याण्ड लगायत युरोपेली मुलुकमा त्यस्ता नेपाली रहेको जानकारी दूतावासमा आएको भन्दै उनीहरुलाई ख्याल गरिदिन आग्रह गरेको हो। गैरआवासीय नेपालीले दिएको सूचनाको आधारमा युरोपमा रहेको सबैजसो दूतावासबाट आआफ्नो क्षेत्रमा पर्ने मुलुकलाई त्यस्तो पत्राचार गरेको हो।

कोरोना भाइरसको संक्रमण सुरु भएपछि एक अर्का मुलुकमा रहेका नागरिकलाई सबैखाले सहयोग र उद्धार गर्ने नीति अनुरुप नै त्यस्तो पत्राचार गरिएको पेरिस र जेनेभास्थित नेपाली दूतावासका अधिकारीले बताए। जेनेभा स्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले स्वीट्जरल्यान्ड र इटाली सरकारलाई लेखेको छ भने पेरिसस्थित दूतावासले पोर्चुगल र फ्रान्सलाई लेखेको छ। त्यस्तै स्पेनस्थित नेपाली दूतावासले पनि त्यहाँको सरकारलाई विशेष आग्रह नै गरेको छ।

युरोपेली महासंघ (ईयू) का लागि नेपाली दूतावासले पनि त्यस्तै आग्रह बेनेलक्स मुलुकलाई गरेको छ भने डेनमार्कस्थित दूतावासले स्कन्डिभियन मुुलुकलाई गरेको छ। स्वीट्जरल्याण्ड र फ्रान्सका नेपाली दूतावासले यो कदम चालेपछि अन्यले त्यसलाई पछ्याएका हुन्। जर्मनी र बेलायतस्थित दूतावासले पनि त्यस्तो पत्राचार गरिसकेको छ। संक्रमणका बेला युरोपका सबैजसो मुलुक एक अर्कामा सम्पर्क विच्छेद झै छन्। त्यहाँ रहेका नेपालीले कुनै प्रकारको कठिनाइ भोग्न नपरोस भनेर सरकारको निर्देशन अनुरुप दूतावासले पत्राचार गरेको जानकारी दिइएको छ।

परराष्ट्रसचिव शंकरदास बैरागीले सबै नियोगलाई सबैखाले नेपालीको अवस्थामा ध्यान दिन निर्देशन गएको र त्यही अनुरुप काम गर्न उहाँहरु स्वतन्त्र रहेको बताए। सबैले पठाएको कूटनीतिक नोटमा आइपरेको मानवीय समस्यामा भरथेग गरिदिन अनुरोध गरेका छन्। वैधानिक अवैधानिक जुन तरिकाले बसेका भएपनि मानवीय हिसाबमा उत्तिकै सहयोग आवश्यक पर्ने सचिव बैरागीले बताए। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।