मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

लन्डनमा कोरोना संक्रमित नेपाली महिला निको भएपछि दिइन् यस्तो सुझाव

दैनिक नेपाल २०७६ चैत १३ गते २१:३८

सांकेतिक तस्वीर

काठमाडौँ, १३ चैत । ब्रिटेनमा कोरोना भाइरस संक्रमित एक नेपाली महिला निको भएकी छन् । केही दिनअघि कोरोनाभाइरस सङक्रमित भएर उनी अस्पताल भर्ना भएकी थिइन् ।

अहिले उनी डिस्चार्ज भएकी छन् । उनको भोगाइ कस्तो रह्यो ? नेपालमा लकडाउन रहेकाहरु प्रति उनको सुझाव के कस्तो छ त?

उनले बीबीसीसँग गरेको कुराकानी यस्तो छ:

“म सुरूमा नियमित रूपमा काममा गएर आएँ र खाना खाएर सुतेँ। तर मध्यराति एकदम धेरै ज्वरो आयो । भोलिपल्ट म यहाँको ’वाक इन’ क्लिनिकमा गएँ।

त्यहाँ मलाई घरमै बस्ने सल्लाह दिइयो । त्यसपछि म घर आएर बसेँ । मलाई रुघाखोकी केही पनि लागेन । खाली टाउको मात्र दुख्ने समस्या थियो ।

ओषधि खाँदा पनि ज्वरो घट्दै घटेन । म औषधि खाएर बस्न थालेँ । तर ज्वरो घट्दै घटेन अनि म फेरि त्यहीँ क्लिनिकमा गएँ । त्यहाँ मेरो खकारको नमुना लिइयो ।

त्यसपछि मलाई भोलिपल्ट फोन आयो अनि भनियो’ तपाईँलाई कोभिड पोजिटिभ देखियो। सास फेर्न गाह्रो छ भने अस्पताल आउनुहोस्’ ।

म त्यसपछि अस्पताल गएँ । विशेष हेरचाह गर्ने एकाइमा मलाई राखियो । त्यहाँ विशेष चिकित्सक र स्वास्थ्यकर्मी मात्र जाने रहेछन् । उनीहरू त्यहाँ १५ मिनेटभन्दा बढी नबस्ने रहेछन् ।

उनीहरूले विशेष पोशाक लगाएका हुने रहेछन्। बुट, गाउन, मास्क, चस्मा, टाउको छोप्ने लगायत लगाएका हुन्थे । अरू बिरामीहरू पनि थिए । उनीहरूलाई मैले धेरै पसिना आएको देखेँ । उनीहरू धेरै नजिक आउँदैन्थे। एकजना एकदमै धेरै गम्भीर बिरामी पनि थिए ।

भाइरसबारे थाहा नहुने रहेछ

यो भाइरस कहाँ हुन्छ भन्ने नै थाहा नहुने रहेछ । त्यो अस्पतालमा बस्दा पनि मैले त्यस्तै पाएँ । यहाँ ब्रिटेनको सरकारले पनि ’सेल्फआइसोलेसन’ अर्थात् एकान्तवासमैँ जोड दिएको छ ।

म पनि त्यहीँ भन्छु । भाइरस लागेको छ भने पनि पत्ता लगाउने समय लाग्ने रहेछ । मलाई यहाँ दश दिन पछि बल्ल जाँचियो र थाहा भयो ।

त्यसैले एकदमै सावधानीपूर्वक बस्नुपर्छ । नेपालमा पनि सरकारले घरमै बस्न अनुरोध गरेको रहेछ । त्यसलाई पालना गरौँ । एकान्तवासमै बस्न सिकौँ । सरसफाइमा एकदमै ध्यान दिऔँ ।

पाँच दिन त्यहाँ बसेपछि मलाई घर पठाइयो । अहिले मलाई केही आराम भएको छ । ज्वरो कम भएको छ । चिकित्सकले दुई खाले एन्टिबायोटिक्स औषधि दिएका छन् ।

त्यही खाएर बसेको छु । म अहिले तल्लो तलामा एकान्तवासमैँ छु । मेरो लागि पकाउने खाने छुट्टै छ । मेरो शौचालय पनि फरक छ । श्रीमान चाहिँ माथि बस्नु हुन्छ ।”

प्रतिक्रिया
सम्बन्धित