बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

के कोरोना भाइरस जैविक हतियार हो त ?

नरेश बराल २०७६ चैत १३ गते १६:४८

-नरेश बराल

काठमाडौँ । जैविक हतियार भन्नाले ठूलो संख्यामा मानव वा अन्य प्राणीको संहार गर्नका लागि प्रयोग गरिने जीव भन्ने बुझिन्छ । यिनीहरु ब्याक्टेरिया, भाइरस वा अन्य कुनै प्रकारका सजिव हुन सक्छन् । अब प्रश्न आउँछ, के कोभिड १९ जैविक हतियार हो त ?

विश्व इतिहासलाई सिंहावलोकन गर्दा प्राचीनकालदेखि नै कुनै न कुनै रुप र माध्यमबाट जैविक हतियारको प्रयोग गर्दै आएको पाइन्छ । आधुनिक युगको कुरा गर्ने हो भने प्रथम र दोश्रो विश्व युद्धमा पनि जैविक हतियारको प्रयोग भएको इतिहास साक्षी छ ।

गत वर्षको अन्त्यतिर चीनको वुहानबाट उत्पति भएको मानिने कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलनु अघिदेखि नै अनेक मिथकहरु सुरु भएका थिए । आरम्भमा जतिबेला सम्म यो व्याधी चीनमा मात्र सिमित थियो त्यतिबेला तिव्रतर गतिमा फस्टाउँदै गएको चीनको व्यापारिक अर्थतन्त्रलाई रोक्न अमेरिकाले गोप्य रुपमा छोडेको जैविक हतियारको रुपमा आशंका गरियो । यो सन्देह त्यतिबेला निराधार सावित भयो जब कोभिड १९ विश्वव्यापी महामारीको रुपमा फैलियो र अमेरिका आफैँ पनि शिकार बन्यो ।

जनसंख्या नियन्त्रणका लागि गरिएको योजनावद्ध कम्युनिष्ट नीति पो हो कि भनी अड्कल काट्ने एकथरी राजनीतिक विश्लेषकको जमात पनि देखा पर्यो । यद्यपि, यो तर्क पनि राजनीतिक वैमनश्यता साँध्ने उद्देश्यले प्रेरित भएको प्रमाणित भइसकेको छ ।

चीनमा पाइने एक प्रजातिको रैथाने चमेरो वा सामुद्रिक जीव खाएको कारण वुहान क्षेत्रमा देखा परेको भनाइमा पनि पर्याप्त आधार र प्रमाण पाइँदैन ।

सबैभन्दा महत्वपूर्ण, अर्काेथरि विद्धानहरु कोरोना भाइरस चीनको वुहानमा रहेको प्रयोगशाला (इन्स्टीच्युट अफ भाइरोलोजी) बाट प्राणी हुँदै मानिसमा सरेको आशंका पनि गर्छन् । सोही प्रयोगशालामा जैविक हतियारकै रुपमा विकास गरिएको योजनावद्ध कार्य जुन भूलवश मानिसमा सर्न पुगेको दुर्घटना जनित दुर्भाग्यको रुपमा पनि अर्थ्याउने गरिन्छ ।

कोभिड १९ (कोरोना भाइरस) को आनुवांशिक संरचना र निर्माण प्रक्रिया हेर्दा यो कुनै प्रयोगशालामा बनेको मानवनिर्मित भाइरस होइन भन्ने वैज्ञानिक पुष्टि भएको छ । बरु यो एक भन्दा बढी प्रकृतिका भाइरसहरुका समायोजन वा उत्परिवर्तनबाट बनेको भन्ने कुरा अध्ययनले देखाउँछ । वैज्ञानिकहरुको अनुसार कम्तीमा यो जैविक हतियार चाँही होइन भन्ने विश्वस्त आधारहरु छन् ।

माथिका तर्कहरुमा मतऐक्यता पाइदैन । कोरोना भाइरसका बारेमा धेरै तथ्यहरु आउन बाँकी नै छन् । विभिन्न राष्ट्रहरुको भूराजनीति, व्यापारिक प्रतिस्पर्धा, परम्परागत शत्रुता एवम् शीतयुद्धकालीन मानसिकता आदिका कारण आआफ्नो अनुकूलका व्याख्या, अनुमान तथा तर्क आउने गरेका छन् । त्यसलाई विभिन्न सञ्चारमाध्यमहरुले पुट दिने नै भए । अन्त्यमा, यो जैविक हतियार नभए पनि विश्वव्यापी महामारी भने हो । त्यसर्थ, सुरक्षित, सचेत र संवेदनशील रहनु आजको आवश्यकता हो ।

प्रतिक्रिया
सम्बन्धित