शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

एक परिवारलाई मासिक १ सिलिण्डर मात्रै दिइने

दैनिक नेपाल २०७६ चैत १३ गते ६:५२

काठमाडाैं, १३ चैत । कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ वितरण नीति तथा प्रणाली लागू गरी सो व्यवस्था गरेको हो । त्यसका लागि बिक्रेताले उपभोक्ताको नाम, ठेगाना नागरिकता नम्बर र फोन नम्बरसहितको तथ्याङ्क राख्नुपर्नेछ ।

सो तथ्याङ्क जिल्ला प्रशासन कार्यालय वा निगमले अनुगमनका बेला वा जुनसुकै बेला पनि बिक्रेतासँग माग्न सक्नेछ । ग्यास उद्योगले डिलर बिक्री गरेको सिलिन्डरको परिमाण र डिलरले उपभोक्तालाई बिक्री गरेको परिमाण नियमित रूपमा परीक्षण गर्नुपर्नेछ ।

निगमका अनुसार ग्यास उद्योगले बिक्रेतालाई पठाउने ग्यास सिलिन्डरको परिमाण, बिक्रेताको नाम, ठेगाना, प्यान वा भ्याट नम्बरलगायतका विवरण खुलाउनु पर्नेछ । निगमको स्वीकृतिबिना ग्यास बिक्री गर्न पाइने छैन ।

काठमाडौं उपत्यकामा नेपाल आयल निगमको कार्यालय, निगमको स्थानीय कार्यालय भएको जिल्लामा सोही कार्यालयबाट र निगमको कार्यालय नभएको जिल्लामा जिल्ला प्रशासन कार्यालयको स्वीकृत लिएरमात्र बिक्री–वितरण गर्नुपर्नेछ । अर्को सूचना जारी नभएसम्मका लागि यही प्रक्रियामा ग्यास वितरण हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

ग्यास उद्योगीले आफूसँग भएको ग्यासको सुरुको मौज्दात, भन्सारबाट आयात भएको परिमाण, उद्योगमा स्ट्यान्डवाई बसेको बुलेटको परिमाण, गोदाममा भरेर राखिएको सिलिन्डरको परिमाण र अघिल्लो दिन बिक्री–वितरण गरिएको परिमाणसहितको क्लोजिङ स्टक देखिने फेरिस्त विवरण हरेक दिन बिहान १० बजे निगमको एलपीजी विभाग वा जिल्ला प्रशासनमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

ग्यास उद्योगको भन्डारमा निगमले ग्यास भन्डारण गर्ने भएको छ । ग्यास उद्योगको भन्डारण क्षमता न्यून रहेको हँुदा भन्डारण गृहलाई निगमले सरकारको आकस्मिक परिस्थितिजन्य मागलाई धान्न भन्डारण गृहका रूपमा प्रयोग गर्ने भएको छ । भन्डारण गृहमा गरिने मौज्दात सम्बन्धित उद्योगको भन्डारण क्षमताको ५० प्रतिशत हुने र एक महिनाभित्र उक्त कार्य पूरा गरिने पौडेलको भनाइ छ । गाेरखा पत्र दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित