बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

भारतबाट इन्धन र खाद्यान्न बोकेका ८५ ट्याङ्कर र ट्रक नेपाल भित्रिए

दैनिक नेपाल २०७६ चैत १३ गते ६:४९

काठमाडाैं, १३ चैत । सीमानाका बन्द गरेर लकडाउन गरिए पनि भारतबाट हुँदै आएको अत्यावश्यक वस्तुको आयात भने जारी रहेको छ ।

एकैदिन भारतबाट पेट्रोलियम पदार्थ, खाद्यान्न र तरकारी बोकेका ८५ वटा ट्रक र ट्याङ्कर नेपाल भित्रिएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भारत र नेपाल दुवै ठाउँमा लकडाउन गरिए पनि मालवाहक गाडी नियमित आइरहेको बताए ।

उनले मङ्गलबार मात्र एकैदिन डिजेलका २३ वटा ट्याङ्कर, पेट्रोलका २० वटा ट्याङ्कर, एलपी ग्यासका सातवटा बुलेट, मट्टीतेलको एक ट्याङ्कर, तरकारी र फलफूल बोकेका २० वटा कन्टेनर तथा खाद्यान्न बोकेका ३० ट्रक भन्सार गराएर भित्रिएको बताए ।

प्रमुख निरौलाका अनुसार तीन दिन यता सिमानालाई पूर्ण रूपमा बन्द गरेर सवारीसाधन र मानिसहरूको ओहोरदोहोरमा प्रतिबन्ध लगाइए पनि पेट्रोलियम पदार्थ र खाद्यान्नको आयातमा कुनै कमी आएको छैन ।

यसअघि आइतबार र सोमबार मात्र यो नाकाबाट ८८१ मेट्रिक टन चामल, २४५ मेट्रिक टन मकै र ८१४ मेट्रिक टन सिमी भारतबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार सोही अवधिमा डिजेल ९५२ किलोलिटर, पेट्रोल पाँच सय किलोलिटर र एलपी ग्यास २२२ मेट्रिक टन आयात भएको थियो ।

लकडाउनको अवस्थामा पनि अत्यावश्यक सामग्रीको सूचीमा रहेका पेट्रोलियम पदार्थ, खाना पकाउने एलपी ग्यास र खाद्यान्नहरू दैनिक जसो ठूलो परिमाणमा आयात भइरहेकोले यस क्षेत्रमा समस्या पर्ने सम्भावना नरहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

उता, भारतबाट सामान लिएर आउने गाडी चालकहरूको सिमानामा कडा स्वास्थ्य परीक्षण गरेर मात्र छिर्न दिइएको जमुनाह प्रहरीले जनाएको छ । यदि व्यवस्था हुने हो भने भारतबाट आउने मालवाहक गाडीलाई पनि निर्मलीकरण गरेर मात्र छिर्न दिनु पर्ने प्रहरी कार्यालयले जनाएको छ । गाेरखा पत्र दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित