शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

क्वारेन्टाइनका लागि नेकपाले दियो कार्यालय भवन

दैनिक नेपाल २०७६ चैत १२ गते १९:०९

खोटाङ, १२ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले क्वारेन्टाइन निर्माणका लागि आफ्नो पार्टी कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण मूलुकमा स्वास्थ्य सङ्कट सिर्जना भएको अवस्थामा राज्यलाई साथ दिनुपर्ने बेला आएकाले दिक्तेलको भवनगैरामा रहेको पुष्पपाल स्मृति भवनलाई क्वारेन्टाइनका रुपमा उपयोग गर्न उपलब्ध गराउने घोषणा गरेको हो ।

नेकपाका जिल्ला अध्यक्ष देवान किराँती र सचिव रामप्रसाद दंगालको संयुक्त हस्ताक्षर भएको प्रेस विज्ञप्ति जारी गर्दै सङ्कटको घडीमा राज्यका हरेक कदममा साथ दिनु राजनीतिक पार्टी, संघसंस्था र जनताको दायित्व भएकाले आवश्यक परेको अवस्थामा क्वारेन्टाइनका रुपमा उपयोगका लागि आफ्नै पार्टी कार्यालय दिने घोषणा गरिएको छ ।

नेकपाको यस घोषणासँगै तीन तले पक्की भवन क्वारेन्टाइनका लागि उपयोग गर्न सकिने भएको छ ।

“मूलुकमा यसबेला स्वास्थ्य सङ्कटकाल लागू भएको छ, सम्पूर्ण सम्पत्तीमाथि राज्यको नियन्त्रण हुन्छ, राज्यले आवश्यक ठानेको अवस्थामा निजी सम्पत्ति उपयोग गर्न सक्छ”, विज्ञप्तिमा भनिएको छ, “संकटको यो घडीमा राज्यलाई साथ दिनु सबैको दायित्व हो, यो महामारीको सामना गर्न राज्यलाई जस्तोसुकै सहयोग गर्न प्रतिवद्ध छौँ ।”

नेकपाले संकटको यो घडीमा सरकारलाई सहयोग गर्न जिल्लावासीमा समेत अपिल गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई ध्यानमा राखेर उच्च सतर्कता अपनाइएको जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताउनुभयो ।

दुई नगरपालिका र आठ गाउँपालिका गरेर दश स्थानीय तह रहेको जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रमा क्वारेन्टाइन निर्माण गरेको छ ।-रासस

प्रतिक्रिया
सम्बन्धित