बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

‘लक डाउन’मा सर्वसाधारणको समर्थन

दैनिक नेपाल २०७६ चैत १२ गते ६:५२

काठमाडौं, १२ चैत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को थप संक्रमण रोक्न सरकारले घोषणा गरेको साताव्यापी ‘लक डाउन’को पहिलो दिन सर्वसाधारणको उल्लेखनीय समर्थन देखिएको छ ।

काठमाडौं उपत्यकासहित देशभरि नै लक डाउनमा सर्वसाधारणले घरमा नै बसेर कोरोना भाइरस संक्रमण रोक्ने सरकारको प्रयासलाई साथ दिएका छन् । उपत्यकाका सडक बिहानैदेखि खाली रहे भने उद्योग, कलकारखाना, पसल सबै बन्द रहेका थिए ।

‘लक डाउन’लाई व्यवस्थित बनाउन सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सवारी साधन नियन्त्रणका लागि ट्राफिक प्रहरी परिचालन गरेको थियो । सडकका विभिन्न स्थानमा प्रहरीले डिभाइडर राखेर कडा चेक जाँचको काम गरेको थियो ।

सरकारले सबै नागरिकलाई घरभित्रै रहन तथा सवारी साधन नचलाउन निर्देशन गरेको छ । सरकारको निर्देशनलाई सर्वसाधारणले साथ दिँदै कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न सहयोग गरेको पाइएको छ ।

प्रहरीले लक डाउनको पहिलो दिन बल प्रयोग गर्ने, पक्राउ गर्ने भन्दा पनि सम्झाइबुझाइ गर्नेमा बढी जोड दिएको थियो । नेपाल प्रहरीका प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले महामारीको रोकथाम गर्न सरकार र नागरिक एक भएर लडेमा मात्र सफल हुने बताए । ‘हामीले नागरिकलाई सहयोग गर्ने र नागरिकले सरकारलाई सहयोग गरेमा मात्र हामी सफल हुने हो,’ उनले राजधानीसँग भने ।

लक डाउनको पहिलो दिन मंगलबार ५२ जनालाई नियन्त्रणमा लिएर छाडिएको छ । ‘हामीले कतिपयलाई सम्झाइबुझाइ गर्दा उहाँहरूले बुझ्नुभयो, ५२ जनाले अलिक बढी नै हुलहुज्जत गरेर जबर्जस्ती नियमको उल्लंघन गरेपछि प्रहरीले नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरेर छाडेको छ,’ प्रवक्ता क्षेत्रीले राजधानीसँग भने । प्रवक्ता क्षेत्रीले सबैलाई घरभित्रै बस्न र महामारी रोकथाममा सहयोग गर्न आग्रह गरेका छन् ।

यसैबीच, नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले कूटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थालाई सवारी आवागनमा अवरोध नगर्ने भएको छ ।

यस्तै, प्रेस पास प्राप्त गरेका सञ्चारकर्मी तथा स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फर्मासिस्ट, प्रयोगशालामा काम गर्ने प्राविधिक, औषधि उत्पादन ढुवानी र बिक्री वितरणमा संलग्न हुने जनशक्तिलगायत स्वास्थ्य उपचारमा संलग्न सबैलाई निजको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने निर्णय गरेको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित