३ कार्तिक २०८३, मंगलबार

लकडाउन कार्यान्वयन गर्न निषेधाज्ञा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन सरकारले सुरु गरेको सातदिने लकडाउनको पहिलो दिन मंगलबार काठमाडौं उपत्यका सुनसान रह्यो । लकडाउन अवज्ञा भएपछि केही जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले कतिपय जिल्लामा सेना नै परिचालन गरेको छ ।

काठमाडौंमा अत्यावश्यकबाहेक अन्य सवारी साधन चलेनन् । बिहानपख भने खाद्यान्न खरिद गर्न पसलमा भीड देखिन्थ्यो । सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहरा दिइरहेका थिए । लकडाउनमा घरबाहिर ननिस्किन सरकारले आग्रह गरे पनि सर्वसाधारण गन्तव्यमा पुग्न हतास देखिन्थे ।

कफ्र्युमा जत्तिकै सुरक्षाकर्मीले चोक–चोकमा पहरा दिएका थिए । खानेपानी, ग्यास, अस्पताल, एम्बुलेन्स र सञ्चार संस्थाका सवारी साधन फाट्टफुट्ट चलेका थिए । प्रहरीले टोल–टोलमा माइकमार्फत सरसफाइमा ध्यान दिन सचेतना अभिवृद्धि गराउँदै हिँडेका थिए । मोटरसाइकलमा ग्यास र चामलका बोरा बोकेर सर्वसाधारण गन्त्यव्यमा लागेको देखिन्थ्यो ।

उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयमा सवारी साधनको पास लिन घुइँचो थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौंमा कुनै पनि प्रकारको अभाव हुन नदिन सरोकारवाला निकायसँग समन्वय गरेर काम गरिरहेको बताए । ‘लकडाउनको अर्थै सर्वसाधारणलाई घरबाहिर ननिस्किई जीवनयापन गर्नु भन्ने हो’, उनले भने, ‘खाद्यान्न, ग्यास र खानेपानीको व्यवस्थापनका लािग आपूर्ति मन्त्रालय र खानेपानी मन्त्रालयसँगै निजी खानेपानी वितरण संस्थासँग समन्वय भइरहेको छ ।’ उनले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाइने बताए ।

महानगरपालिकाको एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले कोरोना संक्रमणको आशंका भए अस्पतालसम्म लैजाने व्यवस्थाका लागि महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) मा फोन गर्न आग्रह गरेको छ । उसले जनशक्ति र स्वास्थ्य सामग्रीसहित तयारी अवस्थामा एम्बुलेन्स राखिएको जनाएको छ । काठमाडौं महानगरको टोल फ्री नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको मेयर विद्यासुन्दर शाक्यले बताए ।

किराना र तरकारी पसल खुल्ने

गृह मन्त्रालयले लकडाउनमा किराना र तरकारी पसल खोल्न मिल्ने जनाएको छ । भीडभाड नगरी पसल खोल्न नरोकिएको मन्त्रालयका प्रवक्ता केदरानाथ शर्माले जानकारी दिए । ‘अत्यावश्यक वस्तु चाहिन्छ । रोक्न मिल्दैन । उपभोग्य वस्तु खरिद गर्न सर्वसाधारण बाहिर निस्किन पाउँछन्’, उनले भने, ‘तर, अनावश्यक हिँडडुल गर्न सर्वसाधारणलाई रोक लगाइन्छ ।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।