३ कार्तिक २०८३, मंगलबार

मुलुक पहिलोपटक हवाई सम्पर्कविहीन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । आज (मंगलबार) देखि एक साताका लागि आन्तरिक हवाई उडान बन्द हुने भएको छ । विश्वभर फैलँदो कोरोना भाइरसको संक्रमणबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै सरकारले कोरोनाको उच्च जोखिमबाट बच्ने उपायस्वरूप एक साताका लागि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार राजधानीमा बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले मंगलबारदेखि आगामी एक साताका लागि हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले सोमबार मात्र विमानबाट आएकी एक युवतीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि सरकारले आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

प्राधिकरणले विश्वभर महामारीका रूप लिएको कोरोना भाइरस संक्रमणको उच्च जोखिम फैलिएपछि सरकारको निर्देशनअनुसार आन्तरिक हवाई उडान बन्द हुने जनाएको छ ।

सरकारको यस निर्णयअनुसार अब मंगलबारका लागि बुकिङ भएका आन्तरिक हवाई टिकट रद्द हुनेछन् । जसका लागि सम्बन्धित वायुसेवा कम्पनीलाई निःशुल्क फिर्ता (रिफन्ड) गर्न पनि निर्देशन दिने निर्णय भएको प्राधिकरणले जनाएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।