काठमाडौं, ११ चैत । कोरोना भाइरस कोभिड-१९ को उच्च जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले तयारी तीब्र पारेको छ ।
सेनाले विज्ञप्ति जारी गर्दै कोरोना रोकथाम तथा सम्भावित महामारीविरुद्ध न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको जानकारी गराएको छ ।
सेनाले डाक्टरसहितको रथीवृन्द तथा अधिकृतहरूको कोर टीम गठन गरेको छ । सेनाले प्रत्येक प्रदेशमा क्वारेन्टाइन र आईसोलेसन वार्ड तयार गरेको छ ।
सरकारले सीमामा स्थापना गरेको हेल्थ डेक्सहरूमा समेत दक्ष स्वास्थ्यकर्मी लगायत सुरक्षाको लागि नेपाली सेनाका व्यक्तिहरू परिचालन गरेको सेनाले जनाएको छ ।
सेनाले विशेष परिस्थिति र आवश्यकताको आधारमा मात्र विदा छुट्टी छाड्न मिलाएको छ । विदाबाट फर्किएका व्यक्तिहरूलाई अनिवार्य रुपमा होम क्वारेन्टाइनमा राखेर चेकजाँचपछि मात्रै डिउटी खटाउने बताइएको छ ।
ब्यारेकभित्रका सेनाको सम्पूर्ण सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको सेनाका प्रवक्ता तथा सहायक रथी विज्ञानदेव पाण्डेले बताए । सेनाको ब्यारेकमा सुत्ने खाटको दुरी घटीमा एक मिटरको राख्ने व्यवस्था गरेको छ। त्यस्तै सबै सेना ब्यारेक हाताभित्र नै लकडाउन गरिएको छ ।











प्रतिक्रिया