८ मंसिर २०८३, मंगलबार

रौतहटमा आठ महिनामा १२ थान पेस्तोल बरामद

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपेन्द्र पटेल

गौर, १० चैत । रौतहट जिल्लामा अबैध हतियारको कारोवार बढेको छ । भारतीय बजारमा सस्तोमा पाइने हतियार प्रयोग गरेर जिल्लामा हत्या, लुटपाट जस्ता घटना हुने गरेका छन् ।

गएको ८ महिनामा जिल्ला प्रहरी कार्यालय रौतहट र सशस्त्र प्रहरीले भारतबाट ल्याएका ११ थान साना हतियार बरामद गरिएको छ ।

२९ राउण्ड गोली बरामद भएको छ । साना हतियार बोकेका १४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

एक साताभित्र सुरक्षा निकायले तीन जना अवैध हातहतियार कारोबारीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी गरुडाले २ जना र सशस्त्र प्रहरी बेस क्याम्प फतुवाले एक जनालाई अवैध हातहतियार सहित पक्राउ गरेको हो ।

ती कारोबारीले नेपालमा बिक्रीका लागि पेस्तोल ल्याएको प्रहरीसामु स्वीकारेका छन् । पक्राउ परेका यमुनामाई गाउँपालिका ३ राजपुर तुलसीका शेख बैतुल्लाहले सीमाक्षेत्रको बजारबाट पेस्तोल खरिद गरेको प्रहरीलाई बयान दिएका छन् ।

उनले बिहारबाट किनेर ल्याएको साना हतियार रौतहटका बिभिन्न स्थानमा बिक्री बितरण गर्ने गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

केही दिनअघि प्रहरीको खोजीको सूचीमा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका जिल्ला इन्चार्ज कामेश्वर पटेल प्रहरी कारबाहीमा परे ।

पटेलको साथमा पनि भारतमै बनेको साना हतियार पाइएको थियो । साना हतियारकै बलमा उनले विभिन्न अपराध गर्दै आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख रविराज खड्काले जानकारी दिए ।

सीमाक्षेत्रका बजारमा भारु २ हजारदेखि साना हतियारको कारोबार शुरु हुने गरेको छ । रौतहटको इशनाथ नगरपालिका ६ बाट जयनगरतर्फ जाने बाटोस्थित क्रान्ति प्राथमिक विद्यालय स्कुलनजिकै असोज २५ गते एक युवकमाथि गोली प्रहार भएको थियो ।

भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर आएको समूहले साना हतियार (पेस्तोल) प्रयोग गरेको थियो । घटनास्थलमै मृत्यु भएका उनको हालसम्म पहिचान हुन सकेको छैन ।

त्यसको १५ दिनपछि कात्तिक १२ गते राति सदरमुकाम गौर ३ स्थित विद्युत प्राधिकरण अगाडि भारतको बिहार राज्य घर भएका ४५ वर्षीय विजय साहमाथि गोली प्रहार भयो । उनको पेटमा गोली लागेको थियो ।

साहलाई पनि पेस्तोलबाट गोली प्रहार गरिएको हो । पछिल्लो समय खुला सीमाको फाइदा उठाउँदै साना हतियारको प्रयोग र ओसारपसार बढ्दा जिल्लामा सुरक्षा चुनौती थपिएको छ ।

सुरक्षा निकायले पटकपटक साना हतियार बरामद गर्नु र गोली प्रहारको घटना बढ्नुले पनि यसको पुष्टि गर्छ । पेस्तोलबाट गोली प्रहारको घटना भारतीय सीमावर्ती तराईका जिल्लामा पहिला पनि हुँदै आएको थियो ।

साना हतियार प्रयोग गरी व्यक्ति हत्या, लुटपाट, चोरी, डकैतीका घटनाहरू निकै हुने गर्थे । शनिबार बिहान विप्लव माओवादीका कार्यकर्ताको साथबाट समेत एक थान नलकुवा पेस्तोल र एक थान ग्रिनेड बरामद भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले बताए ।