काठमाडौं, ९ चैत । सिंगापुरबाट आएको सिल्क एयरको विमानबाट यात्रुलाई ओरालिएको छ । यात्रुहरूले चर्को नारावाजी गरेपछि करीब साढे तीन घण्टापछि विमानस्थल प्रशासनले यात्रुलाई ओरार्ने निर्णय गरेको हो । शनिबार राति १२ बजेपछि यात्रुलाई ओर्लिन दिइएको छ ।
शनिबार राति ८ः४० बजे त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको सिल्क एयरको एमआई–४१६ विमानले कोरोना रोकथामका लागि प्रतिबन्ध लगाइएका मुलुकका केही नागरिक लिएर आएपछि यात्रुलाई राति अबेरसम्म बाहिर आउन दिइएको थिएन ।
करीब दुई सय यात्रु बोकेर आएको उक्त विमानलाई सुरुमा आकाशबाटै सिंगापुर फिर्ता हुन भनिएको थियो । तर इन्धन भर्नुपर्ने भन्दै विमान अवतरण गरेको थियो । सिंगापुरबाट आएको उक्त विमानमा रहेका प्रतिबन्धित मुलुकका विदेशी पनि धेरैजसो नेपाली मुलकै व्यक्ति थिए ।
विमानलाई सिंगापुर नै फिर्ता पठाउने तयारी सरकारले गरे पनि यात्रु र हवाई उड्डयन नियमअनुसार नमिल्ने भएपछि अवतरण गर्न दिइएको थियो । विमान अवतरण गरेपछि विमानभित्रै आयत्रुहरूले नाराबाजी सुरु गरेका थिए ।
ओरालिएका यात्रुको राति नै स्वास्थ्य परीक्षण गरेर तीन जनालाई मात्र क्वारेन्टाइनमा पठाइएको विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । बाँकी सबैलाई आ-आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न भनिएको विमानस्थल सुरक्षामा खटिएका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियम अनुसार कुनै देशमा अवतरण गरिसकेको जहाजलाई यात्रुसहित फिर्ता पठाउन मिल्दैन । यही नियमअनुसार विमानलाई अवतरण हुन दिइएको नागरिक उड्डयन प्राधिकरण सम्बद्व कर्मचारीको दाबी छ ।
यात्रु र उनीहरूका आफन्तले समेत विमानबाट बाहिर आउन नदिएको भन्दै राति अबेरसम्म आक्रोश पोखिरहेका थिए । नेपालले आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडानहरू स्थगन गरेको छ भने शुक्रबारदेखि युरोप, खाडीलगायतका मुलुकबाट आगमनमा प्रतिबन्ध लगाएको थियो । नागरिक दैनिकले समाचार छापेकाे छ ।















प्रतिक्रिया