४ कार्तिक २०८३, बुधबार

नाकाबाट निर्बाध आवागमन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । कोभिड– १९ संक्रमणलाई रोक्ने हेतुले सरकारले बन्द गर्ने भनेका भारतसँगका साना नाकाबाट निर्बाध आवागमन भइरहेको छ । आउजाउ रोक्नभन्दा स्थानीय सरकारहरू नाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्नतिर लागेका छन् । जिल्ला प्रशासकहरूसँग पनि यसबारे कुनै योजना छैन ।

विज्ञहरूले भने भारतमा प्रतिदिन फैलिँदै गएको संक्रमणले नेपालमा जुनसुकै बेला भयावह रूप लिन सक्ने भएकाले नाकामा कडाइ गर्नैपर्ने बताएका छन् ।

‘दक्षिणतिर संक्रमणको संख्या बढ्दै जाँदा नाका खुला भएपछि जोखिमको स्तर पनि बढ्दै जान्छ भन्ने जसले पनि बुझ्ने कुरा हो, महामारीबाट जोगिने हो भने सबै नाका बन्द गर्नैपर्छ,’ शुक्रराज ट्रपिकल अस्पताल टेकुका चिकित्सक डा. शेरबहादुर पुनले भने, ‘जुन सतर्कता हामीले विमानस्थलमा देखायौं, त्यो स्थलमार्गमा पनि देखाएनौं भने ठूलो भूल हुनेछ ।’

डा. पुनले भनेजस्तो सतर्कता सीमाका कुनै पनि नाकामा देखाइएको छैन । भारतसँग ६० किलोमिटर सिमाना जोडिएको प्रदेश १ को मोरङका जोगबनीसहित मायागन्ज, रंगेली, डाइनिया, डोरिया, चुनीबारी, तरिगामा, कदमाहा र चौकीघाट गरी नौवटा छोटी भन्सार नाकाबाट दिनहुँ हजारौं मानिसको ओहोरदोहोर पहिलेजस्तै छ ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नाकाबाट आउजाउमा रोक लगाउने कुनै तयारी नभएको बताए । बन्द गर्ने निर्णय गरेयता जोगबनी नाकाबाट मात्रै हरेक दिन करिब १५ सय जना आउजाउ गरिरहेका छन् ।

दार्जिलिङसँग जोडिएको पूर्वी इलामका मानेभन्ज्याङ, हिले, छब्बिसे, शान्तिबजारलगायत नाकाबाट दुवै देशका सर्वसाधारण केही नभए जस्तै गरी वारिपारि गरिरहेका छन् ।झापाका मेची पुल, केचना, घेराबारी, कुमरखोद तथा खजुरगाछी नाका पनि बन्द गरिएका छैनन् । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।