८ मंसिर २०८३, मंगलबार

बलात्कार मुद्दामा गलत रिपोर्ट बनाएर लाइसेन्स खारेज भएका डाक्टर बिरामी जाँच्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं, २७ फागुन ।  बलात्कारको घटना लुकाउन गलत मेडिकल रिपोर्ट दिने दुई डाक्टर काममा फर्केका छन् । तत्कालीन जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा. विजयकुमार सिंह र डा. रम्भा गोइत पुरानै पेसामा फर्केका हुन् ।

आर्थिक प्रभावमा परी बलात्कारजस्तो जघन्य अपराधको घटना लुकाउन गलत रिपोर्ट दिएको भन्दै विशेष अदालतले १ पुस ०७६ मा ६ महिना कैद सजाय र २५ हजार जरिवानाको फैसला गरेको थियो । तर, अहिले दुवैजना बिरामीको चेकजाँच गर्दै आइरहेका छन् । डा. सिंह जनकपुरकै विभिन्न हस्पिटल तथा क्लिनिक तथा डा. गोइत बुटवलमा एक नर्सिङ होममा काम गरिरहेको पाइएको छ । पेसागत मर्यादाविपरीत कार्य गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले दुवैको चिकित्सक प्रमाणपत्र खारेज गरेको छ ।

गलत रिपोर्ट दिएको अभियोगमा दोषी ठहर भएका तथा हाल निलम्बन अवस्थामा रहेका डा. सिंह अझै पनि प्रादेशिक अस्पताल जनकपुरको क्वार्टरमै बसिरहेका छन् । अस्पतालका अन्य चिकित्सक क्वार्टर नपाएर बाहिरै बस्नुपर्ने अवस्था भए पनि उनले भने सरकारी क्वार्टरमा कब्जा जमाएका छन् ।

प्रादेशिक अस्पतालका प्रमुख नागेन्द्र यादवले डा. सिंहलाई क्वार्टर छाड्न भने पनि नमानेको बताए । उनले भने, ‘सिंहलाई क्वार्टर खाली गर्न पत्र दिइसकेको छु, तर अझै खाली गरेका छैनन् ।’ नयाँ पत्रिका