काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी ओलीको बुधबार बिहान नौ बजे मिर्गौला प्रत्यारोपण हुँने भएकाे छ ।
प्रत्यारोपण गर्नुअघि मंगलबार मध्यराति १२ बजेबाट उनलाई केही खान नदिइने चिकित्सकले बताएका छन् ।
चिकित्सकका अनुसार रक्तचाप एवं शरीरको तापक्रमलगायत अन्य स्वास्थ्य अवस्थाको जाँचको रिपोर्ट राम्रो आएको छ । त्रिभुवन विश्वविद्यालयका कुलपति डा. धर्मकान्त बास्कोटाका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो छ ।
मिर्गौलामा समस्या आएपछि कात्तिक १४ गतेदेखि प्रधानमन्त्री ओलीले नियमित डायलासिस गराइरहेका छन् ।
अस्पतालका निर्देशक खड्गाका अनुसार वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दीव्या सिंह शाहको नेतृत्वमा नेफ्रोलोजी टीमले प्रत्यक्ष निगरानी गरिरहेको छ ।
एक साता अघि ६९ औं जन्मोत्सव मनाएका प्रधानमन्त्री ओलीको उच्च मनोबलदेखेर चिकित्सक चकित छन् ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. अरुण सायमी पनि प्रधानमन्त्रीको मनोबल उच्च रहेको बताए । ओलीलाई भान्जी साइनो पर्ने समीक्षा संग्रोलाले मिर्गौला प्रदान गर्न लागेकी छिन् ।
अस्पतालको युरोलोजी विभागका विभागीय प्रमुख एवं वरिष्ठ मिर्गौला प्रत्यारोपण सर्जन प्रा.डा. उत्तम र शर्मा र वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीको समन्वयमा मिर्गौला प्रत्यारोपण गरिनेछ ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सकसमेत रहेकी डा. शाहको नेतृत्वमा खटिएको नेफ्रोलाजी टीमले तयार पारेपछि युरोलोजी टीममा रहेका चिकित्सक शल्यक्रियामा संलग्न हुने छन्।
नेफ्रोलोजी र युरोलोजी टीममा अन्य चिकित्सक डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. पवन चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौेडेल, डा. महेश प्रधान पनि शल्यक्रियमा संलग्न हुने छन् ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्लेले इम्युनो सप्रेसिभ औषधि सेवन गरिरहेका प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल हुनेमा आफू ढुक्क रहेको बताएका छन् ।











प्रतिक्रिया