डाेल्पा, २० फागुन । डाेल्पा जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिका–१ को करेलीकाँडमा एकैपटक ५० जनाभन्दा बढी स्थानीय बिरामी भएका छन् ।
केहीदिन यता रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने लक्षणका बिरामी गाउँमा रहेका छन् ।
बालबालिका, महिला जेष्ठ नागरिक तथा अरु उमेर समूहका सर्वसाधारण पनि यो लक्षणका कारण समस्यामा परेका छन् । बिरामीको संख्या बढ्दै गएपछि स्थानीय आत्तिएका छन् ।
बिरामीको संख्या बढ्दै गएपछि स्वास्थ्यकर्मी प्रभावितस्थल पुगेका छन् । बिरामीको भर्खर उपचार सुरु भएको लेखनाथ आधारभूत विद्यालयका शिक्षक लक्ष्यबहादुर सुनारले जानकारी दिए। उपचारका लागि स्वास्थ्यकर्मी, स्थानीय विद्यालयमा कार्यरत शिक्षक लागिरहेको सुनारले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले स्थानीय बिरामी भएकोबारे सोमबार बिहान ११ बजे मात्रै जानकारी आएको बताए ।
जानकारी आउने बित्तिकै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सम्बन्धित क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिए ।
बिरामी भएको भन्ने खबर आएलगत्तै औषधिसहितको स्वास्थ्यकर्मीको टोली र आवश्यक सुरक्षा तथा समन्वय सहयोगका लागि सुरक्षाकर्मी पठाइएको उनले बताए । उनले २० देखि २५ जना बिरामी भएको खबर आएको बताए ।











प्रतिक्रिया