
काठमाडौं, १७ फागुन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले आफ्नो मन्त्रालयकाे एक सय दिनको कार्य प्रगति सार्वजनिक गर्नुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले एक सय दिनमा २ सय किलोमिटर सडक कालोपत्रे गरिएको जानकारी दिनुभएको छ । आफू मन्त्री भएर आएपछि एक सय ३० किलोमिटर ग्राभेल र ६९ किलोमिटर नयाँ ट्रयाक खोलिएको बताउनुभयो । उहाँले सय दिनमा ४० वटा पक्की पुलको निर्माण कार्य सम्पन्न गरिएको पनि जानकारी दिनुभयो ।
यस्तै, २ किलोमिटर रेलमार्गको ट्रयाक खोलिएको र काठमाण्डौको खाल्डाखुल्डी पुर्नु आफ्नो मुख्य सफलता बताउनुभयो । उहाँले एक सय दिनमा सडक विभागअन्तर्गत रहेका सडकहरुका ९ हजार ५ सय वटा खाल्डाखुल्डी पुरिएको जानकारी गराउनुभयो । यसै आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं उपत्यकामा थप ८५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्यसहित काम भइरहेको मन्त्री नेम्वाङले जानकारी दिए ।
काठमाडौं उपत्यकाको चक्रपथअन्तर्गत ग्वार्को चोक, सातदोबाटो चोक र नख्खु चोकमा फ्लाइ ओभरको डीपीआर तयार गर्नका लागि परामर्शदाता छनोट कार्य भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै सूर्यविनायक–धुलिखेल सडकखण्डलाई विस्तार गर्न कोटेश्वर जडिबुटी चोकको ट्राफिक जामलाई दीर्घकालीन रुपमा समाधान गर्न फ्लाइओभररअन्डरपास निर्माणका लागि जापान सरकारसँग समन्वय भइरहेको छ ।
कोटेश्वरको जाम घटाउन चार लेन सडक थप गर्नको लागि पर्यटन मन्त्रालयबाट जग्गा प्राप्त भएको, चक्रपथ अन्तर्गत ग्वार्को चोक, सातदोबाटो चोक र नख्खु चोकमा फ्लाइ ओभरको डीपीआर तयार गर्नका लागि परामर्शदाता छनोट कार्य भइरहेको, सूर्यविनायक–धुलिखेल सडकखण्डलाई विस्तार तथा कोटेश्वर जडिबुटी चोकको ट्राफिक जामलाई दीर्घकालीन रुपमा समाधान गर्न फ्लाइओभर र अन्डरपास निर्माणका लागि जापान सरकारसँग समन्वय भइरहेको पनि मन्त्री नेम्वाङले जानकारी गराउनुभएको छ ।
पैदलयात्रुहरुलाई सुरक्षित रुपमा बाटो काट्नका लागि रिङ्गरोडको बालकुमारी, सातदोबाटो र एकान्तकुनामा आकासे पुल निर्माण कार्य सम्पन्न भइसकेको र बल्खु, सानेपा, महालक्ष्मीस्थान र बानेश्वरमा थप आकासेपुल निर्माणको डिजाइन सम्पन्न भइ ठेक्का व्यवस्थापन प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।











प्रतिक्रिया