शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

जनताबाट तिरस्कृत बामदेवका लागि किन संविधान संशोधन ?

बीबी श्रेष्ठ २०७६ फागुन १६ गते १२:३५

-बीबी श्रेष्ठ

पटक–पटक विवादमा रुमल्लिईरहने बामदेव गाैतमको जस्तो महत्वकांक्षाले नेकपालाई मात्र होईन सिंगो देशलाई नै तंरगित बनाएको छ । पटक–पटक मन्त्री र उपप्रधानमन्त्री बनिसकेर सत्ताको स्वाद चाखिसकेका बामदेव गौतमको रवैयाले अन्ततः यो बहुमतको सरकारलाई पनि असफल बनाउने र राजनैतिक अस्थिरता निम्तने पक्का छ ।

बामदेवको संसदमा आवश्यकता के का लागि ? जनताबाट निर्वाचित भएर आउने व्यक्ति नै मन्त्री र प्रधानमन्त्री बन्ने संवैधानिक व्यवस्था भए पनि बामदेव जसरी पनि प्रधानमन्त्री बन्ने अभिलाषाले पार्टी भित्र नै गुट उपगुट को अन्तर्य लुकेको  छ ।

लामो समयसम्म राजनैतिक अस्थिरता बोेकेको नेपालमा ०७४ मा भएको प्रतिनिधि सभाको चुनावपछि नेकपाको स्पष्ट बहुमतमा प्रधानमन्त्री केपी शर्मा ओलीको दुरदृष्टिता र नेतृत्व नै मुख्य कारक तत्व हो ।

ओलीको त्यो स्पष्ट राष्ट्रवादी छविका कारण नै नेकपालाई जनताले करिब दुई तिहाई मत दिएर सरकारमा पठाएका थिए नकि बामदेवलाई प्रधानमन्त्री बनाउनका लागि । गुट र स्वार्थमा अडेको नेताहरुको विगतका कमी कमजोरी अहिले पनि आएर उजागर भएको छ ।

स्थिर सरकार र विकास नै अहिलको प्राथमिकता हुनुपर्ने सन्र्दभमा शक्ति र स्वार्थमा केन्द्रित रहेर बेमौसमी बाजा बजाएर जनताका माझमा पुनः उदाँङ्गो बन्न तैयार भईरहेका छन् । यो सब के का लागि ?

जनता के चाहन्छन् र देशको अहिलेको आवश्यकता के हो भन्ने विषयमा पार्टीभित्र गम्भिर छलफल भएर जनताको आवश्यकता पूर्तिमा ध्यान दिने कि सत्ता केन्द्रित खेल खेल्ने ?

समयलाई चिन्न नसके जनताको सँधै साथ र समर्थन पाउन सकिँदैन भन्ने एकमात्र सत्य समेत नबुझेका नेताहरु यो देशका नेता होईनन् गद्दार हुन् । जुन समयले पुष्टि गर्नेछन् ।

बिगतमा नेकपा एमाले फुटाएर माले बनाएका बामदेव गौतम आखिर के चाहन्छन् ? प्रधानमन्त्री बन्नका लागि जे जस्तो पनि सम्झौता गर्ने र जता पनि ढल्कन चाहने बामदेवको यो रवैयामा देशका शीर्ष नेताहरु किन बुझ पचाउँदैछन् ।

देशका कार्यकारी पदमा पुग्नका लागि के जनताको मन जित्न पर्देन ? जनताबाट तिरस्कृत भएका बामदेव कसका लागि प्रधानमन्त्री बन्ने अभिलाषा राखेका छन् ? देश र जनताका लागि प्रधानमन्त्री बन्ने हो भने जनमत लिन पर्देन ?

त्यसका लागि लोकतान्त्रिक विधि चुनावमार्फत जनताको मन जितेर संसदमा आउनुपर्दैन ? के बामदेव पहिलो चोटी सत्ताको स्वादमा डुव्न लागेका हुन् र ?

पटक–पटक मन्त्री र उपप्रधानमन्त्री हुदाँ जनताका पक्षमा काम गरेको भए त अवश्य पनि जनताबाट तिरस्कृत हुनु पर्ने थिएन । सत्ता र शक्तिमा हुदाँ जनपक्षीय काम नगर्ने बामदेव फेरि कसका लागि प्रधानमन्त्री हुने अभिलाषा राख्दछन् ?

बामदेवलाई प्रधानमन्त्री बनाउन संविधान सशोधन जस्तो विषम परिस्थितीलाई पनि सहज सोच्ने नेताका कार्यशैलीले ओली सरकारलाई थप दुषित बनाएकोे छ ।

अबको ३ वर्षपछि हुने चुनाव केन्द्रित जनताको आवश्यकता पूर्तिमा लागेर जनअनुमोदन भएर संसद छिर्न कोशिश गर्ने कि बामदेवलाई प्रधानमन्त्री बनाउन राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्ने पाउने गरि संविधान संशोधन गर्ने ?

सिंगो देश र विश्व नै नेपाललाई नियालिरहेको सन्दर्भमा बामदेवको बलमिँच्याई र त्यसमा साथ दिनेहरुको भोलि के होला ?

एक्काईसाैँ शताव्दीको यो प्रविधिको युगमा अझै पनि नेताहरु जनतालाई भेडा सम्झेर अगाडि बढ्ने हो भने जनताबाट तिरस्कृत हुनुको विकल्प छैन । देश र जनताका लागि लडाई लडेको दावा गर्ने नेताहरुले वेलामा नै सोच्न जरुरी छ ।

संविधान संशोधन आफैमा समयको आवश्यकता र जनताको मागअनुसार जायज हुन सक्दछ, नकि बामदेवलाई प्रधानमन्त्री बनाउनका लागि । फेरि बामदेव प्रधानमन्त्री हुँदैमा देशले के नै काँचुली फेर्दछ र ?

देशले आफैंलाई नै दिग्गज सम्झने नेताहरु प्रधानमन्त्री भएर देश हाँकिसकेको सन्दर्भमा बामदेवको प्रधामन्त्रीमा आगमनले माखो मार्न सक्दैन र त्यो काम जनताका लागि सह्य पनि हुन सक्दैन ।

जनताबाट तिरस्कृत बामदेवलाई प्रधानमन्त्री त के राष्ट्रिय सभा सदस्य का लागि पनि हानिकारिक हुन्छ । जुन कुरा नेतृत्वले बुझ्न ढिला गर्नु हुदैन ।

जनताबाट तिरस्कृत भएका बामदेव कसका लागि प्रधानमन्त्री बन्ने अभिलाषा राखेका छन् ? देश र जनताका लागि प्रधानमन्त्री बन्ने हो भने जनमत लिनु पर्देन ? त्यसका लागि लोकतान्त्रिक विधि चुनाव मार्फत जनताको मन जितेर संसदमा आउनुपर्देन ?

०७४ का प्रतिनिधीसभाका चुनावमा कांग्रेस नेतासँग लज्जाजनक हार ब्यहोरेका बामदेव कतिसम्म अलोकप्रिय रहेछन् भन्न बुझ्न गाह्रो छैन । तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादीको गठबन्धनमा भएको चुनावमा नेकपाका धेरै शीर्ष नेताले चुनाव धेरै मतान्तरले जित्दा बामदेवले चुनाव हार्नुको मुख्य कारण भनेको उनकोे दम्भ नै हो ।

नत्र मन्त्री र उपप्रधानमन्त्री र गृहमन्त्री समेत भईसकेको बामदेव सत्ताको उन्मादले जनताको भावनाअनुरुप नचल्नु नै हारको मुख्य कारक तत्व हो ।

त्यो एकमात्र सत्य समेत नवुझि चुनावमा हारेर पनि प्रधानमन्त्री बन्नका लागि रटान लगाउनु र उसको प्रस्तावमा साथ दिनेहरु नेकपाका मात्र नभई देशका नै भाईरस हुन् ।

जसले नेपालमा विकास र स्थिरता होईन, युद्ध भूमि बनाउन चाहन्छन् । जनताका भावनामा खेलवाड गर्न चाहन्छन् । नेताहरुको यहि रवैया रहिरहने हो भने जनताहरु त्यति भेडा छैनन्, जति नेताहरु सोच्दछन् ।

ईच्छा र अभिलाषाको पनि एउटा सीमा हुन्छ, त्यो सीमा सत्य र लोकले पचाउन सक्ने हुनुपर्दछ । जुन कुरा बामदेव र बामदेवलाई प्रधानमन्त्री बनाउनका लागि प्रयत्न गर्ने नेताहरुले बुझन सकेनन् ।

जनता के चाहन्छन भन्दा पनि जनताको अगाडि नाङ्गो नाच्न अभ्यस्त नेताहरुमा यहि रवैया रहिरहने हो भने जनताले सधै काँध थाप्ने छैनन् । चुनाव फेरि पनि हुन्छ, त्यसका लागि बामदेवले तैयारी गर्ने कि प्रधानमन्त्री बन्नका लागि लोक हसाउने ?

डोल्पाबाट निर्वाचित सांसद धनवहादुर बुढाको राजिनामा मात्र होईन । काठमाण्डौ ७ को निर्वाचित रामविर मानन्धरलाई समेत राजीनामा गर्न बाध्य पारेर जग हसाएका बामदेव फेरि आफु प्रधानमन्त्री बन्नका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्ने पाउने संवैधानिक व्यवस्था गर्नका लागि संविधान नै संशोधन गर्न लगाएर जनताको नजरमा पनि थप गिरेका छन् भने बामदेवलाई साथ दिनेहरु जनताका माझ नाङ्गिएका छन् ।

कास्की २ मा रविन्द्र अधिकारीको स्थानमा पार्टीले निर्वाचन लड्नका लागि गरिएको आग्रह र आफैंमा जित्ने विश्वास नभएका बामदेव जनता भन्दा पनि शक्तिमा नै विश्वास गर्ने नेतामा दरिएका छन् ।

जसले विश्वास गरि देश विकास र समृद्धिका लागि पठाएको जनतामा नैराश्यता छाएको छ । नेकपा प्रति नै अविश्वास सिर्जना भएको  छ । नेकपा र नेताहरुले यो कुरा बुझ्न सकेनन् भने नेकपा पनि ईतिहासमा सीमित बन्नेमा दुविधा छैन ।

बामदेवको यहि रवैयालाई नचिर्ने हो भने र सत्ता र शक्तिका लागि नेताहरु फेरिसरकार बनाउने र गिराउने खेलमा लाग्ने हो भने राम राम मात्र भन्न सकिन्छ, काँध थाप्न सकिँदैन ।

प्रतिक्रिया
सम्बन्धित