८ मंसिर २०८३, मंगलबार

हप्ता दिनका लागि बिदा लिएका इन्सपेक्टर चार महिनासम्म पनि गायब

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन ।  एक हप्ताका लागि बिदा लिएका नेपाल प्रहरीका एक निरिक्षक चार महिना बितिसक्दा पनि बेपत्ता रहेका छन् ।

प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्राविधिक निरिक्षक मोहमद फिरदोश आलम चार महिनासम्म पनि हाजिर नभएपछि गृह मन्त्रालयले कारबाही अघि बढाएको छ ।

अस्पताल प्रशासनका अनुसार आलमको ८ कात्तिकबाट लागू हुने गरी सात दिनका लागि घर विदा स्वीकृत भएको थियो । तर, अहिलेसम्म हाजिर नभएपछि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाले फिरदोशमाथि थप कानूनी प्रक्रिया अघि बढाएको छ ।

उनको ठेगानामा पत्राचार गर्दा पनि उनि फेला नपरेका बताइएको छ । शुक्रबार मन्त्रालयले हाजिर हुन आउनेबारे म्याद सम्बन्धी सूचना पनि जारी गरेको छ । सूचनामा भनिएको छ, ‘सूचना प्रकाशित भएको मितिले सात दिनभित्र तपाईंलाई नोकरीबाट हटाउनु नपर्ने कुनै मनासिव कारण भए सन्तोषजनक स्पष्टिकरण जवाफ लिइ पेश गर्न आउनु होला ।’

नभए प्रहरी नियमावली, २०७१ बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने छ ।