शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पूर्वडिआईजी खरेलको राजनीतिक यात्रा : काठमाडौंका केजरीवाल हुन सक्लान् ?

दैनिक नेपाल २०७६ फागुन १४ गते १०:५६

काठमाडौं, १४ फागुन । सुशासित अनुहारका रुपमा प्रहरी सेवामा चिनिएका पूर्वडिआईजी रमेश खरेलले राजनीतिक यात्रा थाल्ने भएका छन् । भ्रष्टाचारविरुद्ध खरो उत्रिने गरेका खरेलले आफ्नो संयोजकत्वमा नयाँ राजनीतिक पार्टीको अवधारणा ल्याएका छन् ।

उनको यो अवधारणालाई कतिपयले भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको शैलीमा बुझेका छन् । भ्रष्टाचारका विषयमा विविध आयामबाट राजनीतिक दल, प्रशासन र प्रहरी कर्मचारी पनि कारबाहीमा परिरहेका बेला त्यसविरुद्धको अभियान नै चलाएर राजनीतिक यात्रामा खरेल लाग्न आँटेका हुन् ।

उनको अभियानसँगै राजनीतिक बाटोमा पूर्वप्रशासक तथा कर्मचारी रहने बताइएको छ । भोली (विहीबार) खरेलको अभियानको घोषणा हुनेछ । ‘यो अभियानमा मात्र सीमित हुने छैन, यसले राजनीतिक यात्रा पनि तय गर्नेछ’, खरेलनिकटहरू भन्छन्,‘सुशासन र भ्रष्टाचारविरोधी राजनीतिक पार्टी बन्नेछ, जसको योजना विकास, जनताका साना साना आवश्यकताका विषयमा घनिभूत बहस हुनेछ ।’

खरेलको राजनीतिक अभियान केजरीवालको जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, जनताका आकांक्षा र दैनिक आवश्यकतासँग जोडिनेछ । जसरी केजरीवालले यीनै सवालमा काम गरेका कारण दिल्लीमा तेस्रो पटक सत्तामा पुग्ने अवसर पाए । ‘काम गरेका, नयाँ अनुहारलाई जनताले पत्याउनेछन् । खरेल एक इमान भएको प्रहरी कर्मचारी रहेको सबैलाई थाहा छ, उहाँको अभियान पनि सोही शैलीमा अगाडि बढ्नेछ’, खरेलनिकट बताउँछन् ।

यसअघि पनि सुशासनसहितको राजनीतिका लागि विवेकशील नेपाली, साझा पार्टीलगायत विभिन्न ब्यानरमा अभियान नभएका होइनन् । तर खरेल काठमाडौंका केजरीवाल बन्न सक्लान् त ? भन्ने चर्चा पनि सुरु भएको छ । केजरीवाल पनि ट्याक्स कार्यालयका पूर्वकर्मचारी थिए ।

प्रतिक्रिया
सम्बन्धित