पाेखरा, १४ फागुन । पक्राउ परेका आफ्ना विद्यार्थीको रिहा र प्रहरीले लगाएको मुद्दा फिर्ता लिने आश्वासन पाएपछि नेविसंघ कास्कीले आन्दोलनस्थगित गरेको छ ।
मुद्दा फिर्ता र विद्यार्थी रिहाइको माग गर्दै नेविसंघले बिहीबारदेखि शैक्षिक हड्ताल घोषणा गरेको थियो ।
मङ्गलबार पनि नेविसंघसम्बद्ध विद्यार्थीले विभिन्न ठाउँमा प्रदर्शन र सरकारी गाडी नियन्त्रणमा लिएका थिए । पृथ्वीनारायण क्याम्पस गेटअघि, पोखरा विश्वविद्यालय नजिक पृथ्वी राजमार्ग, चिप्लेढुङ्गा, महेन्द्रपुल, भैरवटोलबाट नेविसंघले एक दर्जन गाडी नियन्त्रणमा लिएर साँझ फिर्ता गरेको थियो ।
नेविसंघ पृथ्वीनारायण क्याम्पसका नेता रेशम हमाल (राजेश) लाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो। प्रहरीले थप ८ जना विद्यार्थीलाई पक्राउ पुर्जी जारी गरेको छ ।
विरोधमा नेविसंघले कास्की जिल्लाभर शैक्षिक हट्ताल गर्ने चेतावनी दिएको थियो। नेविसंघ केन्द्रले पनि विद्यार्थी रिहा गर्न माग गरेको छ ।
बगरस्थित पृथ्वीनारायण क्याम्पस अगाडि सरकारी गाडी नियन्त्रणमा लिने क्रममा विद्यार्थी र प्रहरीबीच झडप हुँदा प्रहरी कुटपिटबाट सुजन तिमिल्सिना घाइते भएका थिए ।
उनको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। विद्यार्थीहरूले आन्दोलन जारी राखेपछि कांग्रेस कास्कीका सभापति कृष्ण केसी, विद्यार्थी नेताहरू र प्रशासनले सहमति खोज्ने समझदारी गरेको छ ।
मुद्दा फिर्तासहित सहमति गरेर अघि बढ्ने आश्वासन कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले दिएपछि पूर्वघोषित सबै आन्दोलनका कार्यक्रम स्थगित गरिएको नेविसंघ नेता भानु ढकालले बताए ।











प्रतिक्रिया