६ कार्तिक २०८३, शुक्रबार

रवीन्द्र अधिकारी हेलिकप्टर दुर्घटना : खराब मौसम र व्यवस्थापकीय त्रुटि

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन ।  तत्कालीन संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना अध्ययनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ । दुर्घटनाको छानविन गर्नका लागि पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा समिति बनाएको थियो।

समितिले हेलिकप्टर दुर्घटनाको कारणमा व्यवस्थापकीय त्रुटि र खराब मौसमलाई दुर्घटनाको कारण मानेको छ । अधिकारीसहितको हेलिकप्टर खराब मौसमका बाबजुत पनि उडेको र हिमआँधीमा फस्दा पाइलटले नियन्त्रण गुमाउदा दुर्घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । समितिले उक्त हेलिकप्टर जमिन छाडेको ३५ सेकेन्डमै दुर्घटनामा परेको उल्लेख गरेको छ।

हेलिकप्टर पूर्वनिर्धारित तालिकाअनुसार काठमाडौं-तेह्रथुम-काठमाडौं का लागि तय भएपनि हेलिकप्टर रुट भन्दा बाहिर ताप्लेजुङ पुुगेको पनि समितिले जनाएको छ । बिहानको ११:४५ मा हेलिकप्टर पाथिभरा अवतरण गरेको थियो। हेलिकप्टर १२:३४ मा दुर्घटनाग्रस्त भएको थियो। प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै समितिले जमिन छाड्नेवित्तिकै हेलिकप्टर दुर्घटनामा परेको बताएको छ।

समितिको प्रतिवेदनमा हेलिकप्टरमा क्षमताभन्दा धेरै भएकाले पनि दुर्घनालाई थप प्रश्रय दिएको बताएको छ । हेलिकप्टरमा अगाडि पाइलटसहित ३ जना यात्रु बसेका थिए। अगाडि बस्ने ती ३ जना को थिए भन्ने बारे जानकारी नभए पनि, पछाडि चारजना थिए। जवकी सेन्ट्रल अफ ग्राभेटी मिलाउनका लागि विमानस्थलमा बुझाएको पत्रमा भने उनीहरुले अगाडि २ र पछाडि ५ जना बस्ने भनेर सिट प्लानिङ भएको थियो । यसरी प्लानिङ भन्दा बाहिर गएर यात्रु सवार हुँदा हेलिकप्टरको सन्तुलन बिग्रेको अनुमानसमेत गरिएको छ ।

हेलिकप्टर उडिसकेपछि सन्तुलनमा खराबी आएको र पाइलटले पुन फर्केर अवतरण गर्ने प्रयास गरेपनि सफल हुन नसकेको देखिएको पनि समितिले जनाएको छ । त्यस्तै हेलिकप्टर कम्पनीले गलत प्लान दिएर पाइलटले एक्कासी योजना परिवर्तन गरेको समितिले ठहर गरेको छ।

समितिका अनुसार कम्पनीले काठमाडौंबाट पाँचथर जाने योजना बुझाएको थियो। तर एक्कासी तेह्रथुप गएर पाथिभर पुगेको देखिन्छ। काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा फागुन १५ गते ताप्लेजुङको दारेभीरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा तत्कालिन पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुब भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो।