शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

गौतमलाई प्रधानमन्त्री बनाउन भारतको उदाहरण

दैनिक नेपाल २०७६ फागुन १३ गते ६:३०

काठमाडौं, १३ फागुन । संविधान संशोधनका चर्चा चलिरहेका बेला वामदेव गौतम पुनः चर्चित बनेका छन् ।

राष्ट्रिय सभाको सांसद बनाएर प्रधानमन्त्री बनाउन गौतमलाई बाटो खोल्ने विषयमा चर्चा भइरहेका बेला नेकपाभित्रै विवाद भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा संविधान संशोधनको मस्यौदा बनाइएको समाचार आएसँगै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सबैभन्दा ठूलो स्वरमा विरोध गरेका छन् ।

त्यति मात्रै होइन नेम्वाङले ठूलो स्वरमा विरोध गरेपछि कार्यदलमा रहेका सदस्य र संयोजकहरू कार्यदलमा नबस्ने बताएका छन् ।

नेकपामा नयाँ प्रधानमन्त्रीको खोजी भएको चर्चा चलेको छ । नयाँ प्रधानमन्त्री बन्न उपयुक्त पात्र तयार पारेपछि प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई हटाउने खेल पार्टीभित्र शुरु भइसकेको एक नेताले बताएका छन् ।

गौतमको भैंसेपाटीस्थित निवासमा भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतको बैठकले ओलीको विकल्प फागुनपछि खोज्ने भित्री सहमति गरेको थियो ।

ओलीले प्रधानमन्त्रीको कार्यकाल दुई वर्ष पूरा गरेलगत्तै भैंसेपाटी गोप्य बैठकको बाछिट्टा देखापर्न थालिसकेको छ ।

आइतबार मात्रै नेकपाले राष्ट्रिय सभा सदस्य भएका व्यक्तिलाई पनि प्रधानमन्त्री बनाउन मिल्ने गरी संविधान संशोधन गर्न माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन भएको हल्ला चलेको थियो ।

नेकपाले गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न लाग्यो भनेर आइतबार र सोमबार दिनभरि सामाजिक सञ्जालमा आलोचना भएको छ ।

हुन त भारतमा कंग्रेसआईले लोकसभामा पराजित भएका डा.मनमोहन सिंहलाई राज्यसभामा ल्याएर दुई पटक प्रधानमन्त्री बनाएको थियो । गौतमका समर्थकहरूले भारतका सिंहको उदाहरण दिएर राष्ट्रिय सभामा लगेर प्रधानमन्त्री बनाउन तर्क गरिरहेका छन् ।

प्रधानमन्त्रीको अभ्यासकै लागि कंग्रेसआईले सिंहलाई पाँच पटकसम्म राज्यसभामा ल्याएको छ । मनमोहन सिंह १९९९ मा दक्षिण दिल्लीबाट उठ्दा हारेका थिए ।
गौतम ०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित