शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

युएनए सम्मेलनमा ५ हजार डलर पुरस्कार, समिति र उपसमिति गठन

दैनिक नेपाल २०७६ फागुन १३ गते ६:०४

विजय थापा

डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा हुने ५ औ युनाईटेड नेप्लिज एसोसिएसन(युएनए )को सम्मेलन अमेरिकामा जन्मेका बालबालिकाहरूप्रति केन्द्रित हुने भएको छ ।

स्थापनाकालदेखि नै यूवालाई प्रोत्साहन दिने काम गर्दै आइरहेको युएनएले यस पटक पनि सोही उद्धेश्यलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेको छ ।

अमेरिकामा जन्मिएका बालबालिकाहरूका बिबिध कार्यक्रमलाई महत्वका साथ जोड दिने जनाएको छ । अमेरिकाको नेपाली समुदायको ईतिहासमा सम्भवत पहिलो पटक अमेरिकामा जन्मेका बालबालिकाले दुवै पढ्ने र लेख्ने प्रतियोगितामा विजय हासिल गरेमा ५ हजार डलर नगद तथा पुरस्कारसम्म पाउने व्यवस्था गरिने र यसको लागि काम भै रहेको ५ औ युएनए सम्मेलन संयोजक अम्मर छन्त्यालले घोषणा गरेका छन् ।

उनले उक्त कुरा गत फेब्रुअरी २३ आइतबारका दिन सम्मेलनलाई सफल बनाउन डिसी क्षेत्रका विभिन्न संघ/संस्थाका प्रतिनिधि,सामाजिक अभियन्ता र समाजका विभिन्न पेशा र वर्गका व्यक्तिहरूलाई भेला गराई सल्लाह, सुझाव र छलफल लिने क्रममा उक्त कुराको जानकारी गराएका हुन् ।

सम्मेलन संयोजक छन्त्यालले भने नेपालीहरू विदेशिने क्रम बढ्दो छ । उनीहरूका सन्तान पनि विदेशिने क्रम जारी रहेको अवस्थामा नेपाली भाषा लोप हुने सम्भावना ज्यादै बढेको उनले बताए ।

यसरी यही क्रम निरन्तर हुने हो भने दोश्रो पुस्ताका नेपाली बालबालिकाले नेपाली भाषा बिर्सने छन् र भाषा बिर्से हाम्रो पहिचान हराउने कुराले आफू चिन्तित भएकोले सम्भवत यति ठूलो राशिको नगद पुरस्कारको चाजो मिलाउने क्रममा तल्लिन भएको उनले बताए ।

उक्त बिशेष आकर्षण कार्यक्रमको लागि नेपाली भाषामा अनुभव हासिल गरेका र बिदेशीलाई समेत नेपाली भाषा पढाउने पेशामा संलग्न व्यक्तिहरुलाई समेत चयन गरिएको छ ।

उक्त आयोजित कार्यक्रमको लागि टेक्सस राज्यबाट आएका युएनएका संस्थापक तथ्जा सफल व्यवसायी पासाङ्ग लामाले युवाहरुलाई प्रोत्साहन र उत्प्रेरणा गर्ने मुख्य उद्धेश्य साथ चर्चित र सफल बिशेष व्यक्तित्वहरूलाई सम्मेलनमा आमन्त्रित गरि दोश्रो पुस्तासंग अन्तरक्रिया गराउने समेत गर्दै आएको उल्लेख गरे ।

लामाले एमआईटी, न्युयोर्कको एल विश्व बिद्यालय र हार्वर्ड जस्ता प्रसिद्ध बिश्वबिद्यालयमा अध्ययनरत नेपाली बिधार्थीको खोजी गरी उनीहरूलाई सम्मेलनमा बोलाई अन्य नेपाली समुदायका नेपाली बिधार्थीलाई समेत उत्प्रेरणा होस् भन्ने हेतुले बिगत सम्मेलनमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको बताए ।

उप संयोजक ,सह संयोजक ,बिभिन्न समिति ,उपसमितिको घोषणा बिस्तारै सार्वजनिक गर्ने समेत जानकारी छन्त्यालले दिएका थिए ।

कार्यक्रममा आमन्त्रित समाजसेवी डा.श्याम कार्की, महाबाणिज्यदूत प्रेमराजा महत, बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ, प्रवासी नेपाली एकता मन्च अमेरिकाका सभापति प्रभु थापा, ईञ्जाकासभापति गुणराज लुइँटेल, गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाका अध्यक्ष डोलनाथ घिमिरे लगायतले बाल्टिमोरमा हुने ५ औ युएनए सम्मेलनको सफलताको लागि शुभकामना दिए ।

बालबालिका प्रतिभा प्रतियोगिताका संयोजक तथा एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दोका संचालक ते क्वान्दो मास्टर (गुरु) कुमार कार्की, खेलकुद संयोजकको तर्फबाट चन्द्र लामा, युवा कार्यक्रम संयोजक रमेश भट्ट, बालबालिकाको नेपाली भाषा प्रतियोगिताको लागि बिष्णु शर्मा, साँस्कृतिक तथा सांगीतिक कार्यक्रमका संयोजक कलाकार सृजन ताम्राकार, आर्थिक तथा बजार व्यवस्थापन इन्द्रबहादुर थापा लगायतले संक्षेपमा आफ्ना कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा युएनए सम्मेलन समिति मध्ये कै बाल्टिमोर तमु समाजका अध्यक्ष तथा समाजसेवी कुल गुरुङले स्वागत मन्तब्य राखेका थिए भने अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास )मेरिल्याण्ड शाखाका अध्यक्ष श्रीजन ताम्राकारले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित