शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

गौतमको मनमा लड्डु फुट्यो, सबै अडान परित्याग

दैनिक नेपाल २०७६ फागुन ११ गते ८:१५

काठमाडौं, ११ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभाको सांसद बन्ने भएका छन् ।

नेकपाको शनिबार बसेको केन्द्रीय सचिवालयको बैठकमा गौतमलाई राष्ट्रिय सभाको सांसद बनाउने सहमति भएपछि तरंग उत्पन्न भएको छ । सांसद बन्ने भएपछि गौतम खुसी भएका छन् ।

यस विषयमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर गौतमलाई राष्ट्रिय सभाको सांसद बनाउने विषयमा पार्टीको निर्णय जानकारी गराएका हुन् ।

ओली र दाहालले शनिबार नै राष्ट्रपति भण्डारीलाई भेटेका थिए । भेटमा गौतमलाई सांसदमा नियुक्त गर्ने पार्टीको निर्णय भएको जानकारी दिइएको स्रोतले जनाएको छ ।

अर्थमन्त्री समेत रहेका राष्ट्रिय सभाका सांसद डा.युवराज खतिवडाको कार्यकाल फागुन २० गते सकिदै छ । डा.खतिवडाको स्थानमा उपाध्यक्ष गौतमलाई नियुक्त गरिनेछ ।

राष्ट्रिय सभाको सांसद हुनका लागि यसअघि संविधान संशोधनको पूर्वसर्त राखेका गौतमले यस पटक भने त्यो अडान छाडेका छन् । सचिवायको बैठकमा उपयुक्त समयमा संविधान संशोधन गर्ने आश्वासन ओली र दाहालले दिएका छन् ।

राष्ट्रिय सभाको सांसद प्रधानमन्त्री बन्ने प्रावधान संविधानले रोकेको छ । गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभाको सांसद प्रधानमन्त्री बन्न पाउनुपर्ने माग गर्दै आएका थिए ।

त्यति मात्रै होइन गौतम राष्ट्रिय सभाको सांसद बने पनि मन्त्री बन्नका लागि समेत संविधान बाधक बन्नेछ । प्रतिनिधि सभाको निर्वाचनमा गौतम बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए । उनी नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग ७ सय ५३ मतले पराजित भएका थिए ।

प्रतिनिधि सभामा उम्मेदवार बनेको व्यक्तिलाई मन्त्री बन्न संविधानले दिँदैन ।

प्रतिक्रिया
सम्बन्धित