
इटहरी, ९ फागुन । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख (एसपी) यज्ञविनोद पोखरेलले झूठा मुद्दा लगाएर संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणालाई कारबाही गराउने प्रयास बिफल भएको विवरण खुलेको छ । एसपी पोखरेलको यो प्रयत्न सतहमा आएका विविध घटनाक्रमले गहिरो आशंकाको कारणमा जोड दिएको हो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पद गुमाएपछि त्यो हारको राजनीतिक कारणमा एसएसपी राणालाई दोषेर कारबाही गरी सत्ताका सामु चोखो बन्न एसपी पोखरेलसँगै सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडिओ) राजेश पौडेल पनि सक्रिय रहेका थिए ।
एसपी पोखरेल र सिडिओ पौडेलले राणाका कारण नै नेकपाले धरानमा चुनाव गुमाएको अनौपचारिक ब्रिफिङ गर्दै नेकपा नेतालाई भनेका थिए,‘त्यो एसएसपी राणाले धरानमा कांग्रेसका नेतालाई प्रहरी कार्यालयमा भेटेरै गुटबन्दी गर्दा प्रशासनिक नियन्त्रणभन्दा बाहिर गयो चुनाव !’
यस्तो तथ्य प्रशासनिक निकायबाट पाएको नेपाल कम्युनिस्ट पार्टीका एक नेताले बताए । दुवैले यो ब्रिफिङ नेकपाका प्रदेश १ का इञ्चार्ज भिम आचार्य, मुख्यमन्त्री शेरधन राईलाई समेत गरेको उच्च स्रोतले बतायो ।
जबकि, चुनाव होस् या अन्य गतिविधि यसमा संघीय प्रहरी इकाईको सक्रिय भूमिका हुँदैन भने राणा राजनीतिक लविङ गर्ने प्रवित्तिका प्रहरी अधिकारी मानिँदैनन् । बरु, विभिन्न बेलामा सुनसरीमा नै जिम्मेवारी पाएर उनले काम गरेका बिगत छन् ।
सीडिओ पौडेलले पनि नेकपाको दबाबको हिसाबमा एसपी पोखरेलले राणाविरुद्ध प्रयोग गरेका हरेक प्रकरणमा सहयोग गरेको खुलेको छ । पौडेलले त यतिसम्मको व्यवाहार देखाएका छन् कि, अनौपचारिक भेटमा ‘स्यालुट’ नगरेको भन्दै एसएसपी राणाविरुद्ध इगो नै लिएको पौडेल निकटवर्तीले दैनिक नेपाललाई सुनाए ।
एसएसपी राणालाई एक महिला बलात्कार गरेको अभियोग लगाएर कारबाही गराउने प्रपञ्चको विन्दु नै एसपी पोखरेलसहितबाट सुरु भएको खुलेको थियो ।
पोखरेलको दबाबका आधारमा नै ति महिलाले एसएसपी राणाविरुद्ध झूठो उजुरी लगाएको स्रोतको दाबी छ । ‘अन्य प्रकरणमा एसएसपी साहेबविरुद्ध कारबाही गर्न कठिन हुने भएपछि उहाँसँग नजिक रहेको भन्ने महिला को हुन सक्छ भनी खोजेर उजुरी हाल्न लगाइयो’, स्रोतले भन्यो ।
विवादमा आएकी झापाकी ति महिलाले एसएसपी राणासँग चिनजान भएको आधारलाई गलत प्रयोग गर्दै आइरहेकी थिइन् ।
स्रोतले दिएको जानकारीअनुसार उजुरी दिने महिला, एसपी पोखरेलले चुनावमा नेकपाको हार व्यहोरेको विषयमा एसएसपी राणालाई दोष लगाउने काम एकअर्कासँग सम्बन्ध राख्छन् । ति उजुरी दिने महिलाको नेकपाका विभिन्न नेतासँग उठबस रहेका प्रमाण दैनिक नेपालसँग सुरक्षित छन् ।
प्रमाण अपुग भएपछि सरकारी वकिलको कार्यालयबाटै ति महिलाले मुद्दा दायर नगर्ने भनी फिर्ता गरिन्, प्रहरीले बलात्कार भनिएको प्रकरणमा एसएसपी राणाविरुद्धका प्रमाण फेला पार्नै सकेन भने कुनै राय दिन सकेन ।
त्यो उजुरी फिर्ता गर्नुको कारण पनि लगाइएको आरोप र अनुसन्धानमा प्राप्त प्रमाणका कुनै विन्दु पनि एकअर्कासँग नजिक थिएनन् । बरु, उजुरी नै कपोकल्पित र झूठो हो भन्ने प्रष्ट थियो ।
‘एसएसपी राणालाई कारबाही गराउनका निम्ति एसपीले निक्कै प्रयत्न गरे, यसको कारण थियो नेकपाले धरानमा चुनाव हार्नु । तर जति पनि प्रमाण भनी उजुरीमा लेख्न लगाइएको थियो, ति मितिदेखि अनेक विषय नै शंकास्पद देखिएपछि महिला नै अप्ठेरोमा परिन्’, सुनसरी प्रहरी स्रोतले भन्यो,‘यसपछि एसपी पोखरेलको सबै प्रयत्न असफल भयो ।’

उजुरी पर्नासाथ त्यसको यथार्थ के हो भन्ने प्रारम्भिक जानकारी, खोजीनीति गरेपछि घटनामा सम्भावित प्रमाण हुनसक्ने आधारमा प्रहरीले पक्राउ पूर्जी अदालतसँग माग गर्नुपर्ने हुन्छ । तर, सुनसरी प्रहरीले हठात् पक्राउ पूर्जी जारी गरी गृह मन्त्रालयमा निलम्बनका लागि पत्राचार गर्नुमा नै ‘नियत’ हुनसक्ने जानकारहरूले टिप्पणी गरेका छन् ।
उपल्ला तहका प्रहरी अधिकारी भन्छन्,‘झन् संगठनका व्यक्ति, त्यहाँमाथि आफ्नै हाकिममाथि लागेको अभियोगका विषयमा ठोस र बलियो प्रमाण नभई अनुसन्धान बढाउन कठिन हुन्छ ।’
तर राणालाई लागेको अभियोगमा एसपी पोखरेलले यी गहनता र प्रक्रियालाई गम्भिरताका साथ चासो नदेखाएको पक्राउदेखि मुद्दा अदालत प्रवेश नगरुन्जेलसम्मका घटनाक्रमले प्रष्ट देखाउँछ । उच्च स्रोतले भन्यो,‘जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेका कारणले नै यस प्रकरणको जस या अपजस दुवै जिल्लाका हाकिमले जिम्मा लिनुपर्छ ।’
मुद्दा कसरी झूठा प्रमाणित हुन्छ ?
एसएसपी राणालाई नियतबस फसाउन खोजिएको भन्ने त्यहिँ पुष्टि हुन्छ जब ति महिलाले दिएको जाहेरीमा २५ साउनमा इटहरीको होटलमा बलात्कार गरेको भन्ने थियो । तर, एसएसपी राणा त्यसबेला राजधानी काठमाडौंमा थिए । जबकि, एसएसपी राणा भदौमा मात्र संघीय प्रहरी कार्यालयमा सरुवा भई हाजिर भएको देखिन्छ भने, उक्त मितिमा राणा काठमाडौंमा रहेको उनको मोबाइलको लोकेशनलगायत प्रभावकारी र मुख्य प्रमाणका रुपमा भेटिए ।
यस्तै सरकारी वकिलको कार्यालयमा ति महिलाले दिएको बयानमा भनेकी थिइन्,‘हामीबीच लेनदेनको विवाद भएका कारण मैले बलात्कारकै उजुरी दिएकी हुँ ।’ यो बयान झनै महत्वपूर्ण प्रमाण बन्यो, एसएसपी राणा निर्दोष छन् भन्ने ।
कुनै गल्ती नगरेको भन्दै आफूविरुद्ध लागेको अभियोगको सामना गर्नका लागि एसएसपी राणा आफैं जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानमा सहयोग गर्न उपस्थित भएका थिए । कुनै खोट वा दोष हुँदा प्रायः अभियुक्त भनिएका व्यक्ति प्रहरीको सम्पर्कमा पुग्दैनन् भने कुनै भिटो प्रयोग गर्न खोज्छन् । राणाले प्रहरीलाई पूर्ण सहयोग गरेका थिए । पक्राउ पूर्जी जारी भएपछि त्यसबेला सुनसरी प्रहरी प्रवक्ता तथा डिएसपी विनोद शर्माले दैनिक नेपाललाई भनेका थिए,‘एसएसपी साहेब जिल्ला प्रहरी कार्यालयमा आफैं उपस्थित हुनु भएको छ ।’
पक्राउ पूर्जी जारी भएको दिन गृह मन्त्रालयले राणालाई निलम्बन गरेको थियो भने भोलीपल्टै उनी जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानमा सहयोग गर्न आफैं उपस्थित भएका थिए ।
अनुसन्धान अधिकारीहरू भन्छन्,‘यस्तो अभियोग लागेको मान्छे निर्दोष नभई या आफू बलियो प्रमाणका साथ नभई सहज हिसाबले सहयोगका लागि उपस्थित हुँदैनन् ।’
यो पनि पढ्नुहोस्











प्रतिक्रिया