
काठमाडौं, ८ फागुन । भारतसँग सीमा जोडिएको झापाको काँकडभिट्टामा रहेको होटल रियाजमा सञ्चालिन क्यासिनो डन सुरेनद्र सिंहको एक करोड रकम बोकी काठमाडौं हुइँकिएको टाटाको स्टोर्म गाडी सशस्त्र प्रहरी बलको चेकिङ प्वाइन्टमा रोकियो, ३ फागुन विहान ।
सशस्त्र प्रहरी बलको बेस क्याम्पका इञ्चार्ज प्रहरी नायव उपरिक्षक (डिएसपी) ज्ञानमणि पौडेललाई खबर भयो– सर ! गाडीमा ठूलो परिमाणमा रकम छ, शंकास्पद छ ।
ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरिक्षक सुभाष थापाको टोलीले उक्त गाडीलाई नियन्त्रणमा लियो, रकम जफत गर्यो र गाडीमा रहेका तीन जनासहित बेस क्याम्पमा उत्रियो । सामान, रकम र गाडी चालकलाई लिएर सशस्त्र प्रहरी क्याम्पमा छिरे । दुई जना अन्य व्यक्ति भने प्रहरीलाई झुक्याएर फरार भए ।
सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गुल्म हेडक्वार्टर काकडभिट्टाको चेकजाँच गर्ने क्रममा उक्त रकमसहित दुई थान मोबाइल पनि फेला परेको थियो ।

साथमा पक्राउ गरिएका थिए क्यासिनोका कर्मचारी श्रवणकुमार चौधरी । बरामद भएको सामान भन्सार कार्यालय काकडभिट्टामा बुझाइयो जुन सम्पत्ति शुद्धिकरण विभागसम्म अनुसन्धानका लागि पुगिसकेको छ । चौधरीलाई भने नेपाल प्रहरीको जिम्मा लगाइयो ।
रकम राखी ल्याएको गाडी च्याचिस नम्बर एमएटी६१७०३३इएनएफ०४९३५, इन्जिन नम्बर २२एलडीआईसीओआरओ९एफभीवाई३०८३३४ रहेको बा१२च ९६८ नम्बरको उक्त जीप नियन्त्रणमा लिएर राखियो ।

उक्त जीप क्यासिनोकै रहेको बुझिएको छ । उक्त क्यासिनो भने सिंहले चलाउँदै आएको दैनिक नेपालले पत्ता लगाएको छ ।
सिंह उनै हुन् जसले याक एन्ड यतीमा सर्वोच्च अदालतको अन्तरिम आदेशका भरमा रोयल क्यासिनो चलाएर अवैध हिसाबले बेचेका छन् भने याक एन्ड यतीकै छेउमा ६० करोडको लागतमा विवादास्पद जग्गा खरिद गरेका छन् ।

उनै सिंहले पक्राउ परेको आफ्नो रकम र जीपसहितलाई छुटाउनका लागि सशस्त्र प्रहरीलाई विभिन्न भिटो प्रयोग गर्न थालेका छन् । स्रोतका अनुसार रकम पक्राउ गरी नियन्त्रणमा लिएर सरकारी खजानमा बुझाउने डिएसपी पौडेलविरुद्ध सिंहको पहलमा नै पावर सेन्टरको प्रेसर दिने काम हुन थालेको छ ।
सीमा क्षेत्रमा सशस्त्र प्रहरीले यत्रो परिमाणमा रकम नियन्त्रणमा लिएर अवैध कामलाई रोक्ने सक्रियता देखाएको छ ।
‘सशस्त्र प्रहरीले सीमामा सुरक्षा गर्दा देखिएको शंकास्पद रकम जफत गरी राज्यको छानबिन गर्ने निकायमा बुझाएको छ । पक्राउ गरिएका व्यक्तिलाई पनि अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ’, एक अधिकारी भन्छन्,‘बाँकी कारबाही भन्ने सम्बन्धित आधिकारीक निकायले गरिरहेको छ ।’











प्रतिक्रिया