बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पूर्वएसएसपी खनालको खुलासा– पैसा नबुझाउँदा बढुवा रोकियो, सिलवाललाई सहयोग गर्दा आईजीको असहयोग

दैनिक नेपाल २०७६ फागुन ७ गते ११:०४

काठमाडौं, ७ फागुन । नेपाल प्रहरीभित्र ‘पैसा र पावर’को विकृत खेल रहेको सतहमा सार्वजनिक हुने गरेकै छन् । सोही कारण कतिपय योग्य अधिकारीले प्रहरीमा नेतृत् वगर्ने तथा बढुवा हुने योग्यतामा चोट सहनुपरेका पर्याप्त उदाहरण छन् ।

त्यस मध्येका एक हुन् पूर्व प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) यादवराज खनाल ।

नेपाल प्रहरीमा पैसा र लाइनको कति महत्व हुन्छ भन्ने विषयको खनालले खुलासा गरेका छन् ।

डिआईजी बढुवाका क्रममा ४०–५० लाखसम्म माग भएको र नदिँदा आफूलाई अन्याय गरिएको खनालले बताएका विवरण सार्वजनिक भएका छन् ।

बढुवामा उनीमाथि गरिएको हेलाका विषयमा त त्यसबेला नै सामाजिक सञ्जालदेखि अनेक फोरममा लेखेका खनालले तत्कालिन प्रहरी प्रमुख (आईजी) उपेन्द्रकान्त अर्याललगायतले असहयोग गरेको पनि बताएका विवरणमा उल्लेख छन् ।

डिआईजी बढुवामा आफू योग्य हुँदा पनि नगरिनुको कारण रकम तिर्न नसक्नु रहेको नै उनको निक्र्यौल छ । बढुवाका समयमा पत्नीको क्यान्सरको उपचार गरिरहेको र दबाबमा पनि रहेको विषय खनालले खुलासा गरेका छन् ।

तत्कालिन गृहमन्त्री बिमलेन्द्र निधि, गृहसचिव लोकदर्शन रेग्मीदेखि आईजी उपेन्द्रकान्त अर्यालसम्म भेट्दा पनि एकअर्कालाई देखाएर पन्छिने गरेको उनले खुलाएका छन् ।

डिआईजी बढुवाका लागि तत्कालिन सत्तारुढ पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई रिझाउनका लागि पनि कतिपयले सुझाव दिएको उनले बताएका छन् । बुढानिलकण्ठमा रकम बुझाए बढुवा निश्चित हुनसक्ने संकेतका रुपमा उनले खुलासा गरेका छन् ।

बढुवामा छुटेपछि उनले सामाजिक सञ्जालमा लेखेका थिए,‘बढुवाका लागि ब्रिफकेशमा होइन, बोरामा नै रकम पुराउनुपर्ने रहेछ !’

उपेन्द्रकान्तपछि आईजी भएका प्रकाश अर्यालले पनि आफूलाई असहयोग गर्नुको कारण पनि उनले खुलाएका छन् । तत्कालिन अवस्थामा रहेको अञ्चल प्रहरी कार्यालय धरानको प्रमुख हुँदा क्षेत्रीय प्रहरी कार्यालय प्रमुख रहेका तत्कालिन डिआइजी नवराज सिलवाललाई सहयोग गरेका कारण प्रकाश अर्यालले आफूलाई असहयोग गरेको उनको खुलासा छ ।

प्रतिक्रिया
सम्बन्धित