शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

होटलको सम्पत्तीमा क्यासिनो सञ्चालकको कब्जा, अवैध हिसाबले चलाउन मासिक घुसको व्यवस्था !

दैनिक नेपाल २०७६ फागुन ७ गते १०:०५

काठमाडौं, ७ फागुन । अज्ञात व्यक्तिको घुसपैठ भएको र जबरजस्ती क्यासिनो चलाईको भन्दै होटल याक इन्ड यतीले आफ्नो सम्पत्ती छाडी निस्कनका लागि सूचना जारी गरेको थियो ।

२० माघदेखि यसरी अवैध हिसाबले अज्ञात व्यक्ति र समूहले क्यासीनो कब्जा गरी चलाएको आशयमा होटलले सूचना जारी गर्नुपर्ने अवस्था आउनुको अर्को कारण हो, प्रहरी प्रशासनले उजुरी नलिनु ।

सरकारी नियम, पर्यटन मन्त्रालयको क्यासिनो नियमावली विपरित र सरकारलाई कर छली चलाइएको रोयल क्यासिनोमा हालको स्वामित्व लिने अनिश शर्मा भन्ने गोकर्ण लामिछानेले चलाउँदै आएका छन् । दुई साता भन्दा बढी समयदेखि त्यसरी क्यासिनोमा कब्जा जमाइएपछि होटलले बाध्य भएर सूचना टाँस गरेको थियो ।

यसरी ठहरिन्छ अवैध

२० माघको मितिसम्ममा रोयल क्यासिनो चलाउने जिम्मा पाएको गिल्ट इन्भेस्टमेन्ट प्रालीसँग र याक एन्ड यती होटलको सम्झौता सकिएको छ । सम्झौता सकिएपछि होटलले उक्त क्यासिनोका लागि नयाँ सम्झौताको तयारी गरेको थियो ।

तर नयाँ सम्झौता त्यसबेला मात्र हुन्छ जब क्यासिनो खाली हुन्छ । अनिश शर्मालगायतको समूहले उक्त क्यासिनो खाली नगर्दा नयाँ सम्झौता हुन पाएको छैन भने, सम्झौताबिहिन अवस्थामा सञ्चालन भएको रोयल क्यासिनोले सरकारलाई कर तिरेको छैन ।

यसले विगत १५ दिनदेखि पर्यटन मन्त्रालयमा पुग्नुपर्ने रकम पनि रोकिएको छ । केही प्रशासनिक निकायका प्रमुख, प्रहरी प्रशासनलगायतमा शर्माके समूहले आर्थिक लाभ दिएका कारणले नै अवैध हिसाबले चलाउन पाएका छन् ।

‘कागजी कारबाही नभएसम्मका लागि प्रहरीले आएर उठाउने कुरा हुँदैन, निवेदन उजुरीको कुरा निकाल्छन् । तर प्रहरीले प्रभावका आधारमा नै उजुरी दर्ता गराएको छैन, बाध्य भएर सूचना टाँस गरेका हौं’, होटल स्रोतले भन्यो ।

त्यसो त क्यासिनोमा काम गर्ने मजदुरदेखि अन्यको सेवा सुविधा पनि शर्माको समूहले दिएको छैन । गुन्डागर्दी शैलीमा चलाएर मजदुरलाई पनि मजबुरीमा राखिएको बताइएको छ ।

त्यसो त सरकारले क्यासिनो सञ्चालनका लागि ०७० मा नै नयाँ नियम लागु गरेको थियो । त्यो नियमको अलिकति पेरीफेरीमा पनि रोयल क्यासिनो नरहेको बताइएको छ ।

त्यसबेला जारी भएको लाइसेन्स शुल्क पनि तिरिएको छैन । रोयलले त झनै सर्वोच्च अदालतको आडमा सरकारलाई ५ बर्षदेखि ठगी गरिरहेको थियो । पर्यटन मन्त्रालयले उक्त शुल्क तिर्नको लागि थप ९० दिनको समय सिमा राख्नेगरी नियमावली संसोधन गरेको थियो ।

चुक्ता पुँजी २५ करोड, बैंक ग्यारेन्टी ४ करोड, इजाजत दस्तुर २ करोड र निवेदन दस्तुर ५ लाख रुपैयाँ व्यवस्था गर्नुका साथै पाँचतारे होटल अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको थियो ।

होटलसँगको सम्झौता नहुँदा पनि उसैको आडमा अवैध हिसाबले रोयल चलाइएको छ । बाहिर ५ तारे याक एन्ड यतीमा रहेको भनी प्रशासनलाई झुक्याउने र भित्र होटलसँग सम्झौता समेत नगरी गुन्डागर्दी शैली अपनाइएको छ ।

कसरी चलाइँदैछ ?

लाईसेन्स पाँच बर्ष अगाडि खारेज भए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशको भरमा क्यासिनो सञ्चालन हँुदै आएको थियो । घर बहाल करार नाममा समयसीमासम्म ‘क्यासिनो चलाउन दिनू’ भन्ने अदालतको आदेशमा टेकेर चलाईए पनि चार बर्षदेखि घर भाडा, ट्याक्स तथा कर्मचारीको तलब समेत चुक्ता नगरी सञ्चालन हुँदै आएको छ, रोयल ।

उक्त क्यासिनो सुरेन्द्र सिंहले लामो समय सञ्चालन गरे । उनले बिभिन्न व्यक्तिलाई बैना गर्दै पैसा लिँदै करोडौं रुपैंया जफत गरे । भारतीय व्यापारी आशिश पटेलदेखि गोवाका केही टोलीसँग करोडौं रुपैंया लिएका सिंहले एक बर्ष अगाडि पुन पटेललाई नै १५ करोडमा क्यासिनो बेचेको विवरणहरु सार्वजनिक भएका छन् ।

सुरेन्द्र सिंहदेखि अनिश शर्मा भन्ने गोर्कण लामिछानेले करोडौं रुपैंयाँ राजश्व, घर भाडा र कर्मचारीको तलब भत्ता चुक्ता गरेका छैनन् । शर्माले काठमाडौं प्रहरीका केही बरिष्ठ प्रहरी अधिकृतका नाम समेत बदनाम गर्दै आफूले ६० लाख दिएर प्रहरीमा सेटिङ मिलाएको दाबी गर्दै होटललाई तर्साउने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित