बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रदेश सरकारको विकास निर्माणको काम द्रुत गतिमा बढेको छ : मुख्यमन्त्री पौडेल

दैनिक नेपाल २०७६ फागुन ६ गते १७:१२

फाइल तस्वीर

हेटौँडा, ६ फागुन । वाग्मती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले विकास निर्माणको कामलाई द्रुतगतिमा अगाडि बढाएको बताउनुभएको छ ।

विपक्षीहरुको गुनासोको सम्बन्धमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा मुख्यमन्त्री पौडेलले वाग्मती प्रदेश सरकारले सातवटै प्रदेश सरकारभन्दा उत्कृष्ठ एवं गुणस्तरीय र प्रभावकारी रुपमा विकास निर्माणमा जोड दिएको तर्क दिनुभयो ।

उहाँले वाग्मती प्रदेशको १३ जिल्लालाई जोड्ने सडक सञ्जालको निर्माण, ग्रामीण सडकको निर्माण, सुरुङमार्गको निर्माण, मुख्य सडकको निर्माण र सार्वजनिक यातायातको सञ्चालन र सुरक्षामा विशेष प्राथमिकताको आधारमा काम गरिरहेको छ भन्नुभयो ।

उहाँले वाग्मती प्रदेशको राजधानी हेटौँडा भएकोमा जनतालाई कुनै समस्या नभएको र भौगोलिक आधारमा उपयुक्त स्थान भएको उल्लेख गर्दै समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्न प्रदेश सरकार लागि रहेको छ भन्नुभयो ।

प्रदेश सरकारलाई पूर्णता दिन दुग्ध विकास बोर्डको गठन, पर्यटन निर्देशनालय, प्रेस रजिष्टारको कार्यालय, औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया, विभिन्न उद्योग र कृषि उत्पादन बढाउने खालको विकासका कार्यक्रम गरिरहेको र आगामी दिनमा प्रभावकारीका साथ सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेश सरकार स्थानीय सरकारसँग समन्वय गरेर जनताको कामलाई छिटोछरितो र पारदर्शी रुपमा गरिरहेको जानकारी दिनुभयो ।

पौडेल समाजद्वारा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले उपरोक्त कुरा बोल्नुभएको हो । उहाँले पौडेल समाज मकवानपुरको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्नुभएको थियो । –रासस

प्रतिक्रिया
सम्बन्धित