शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

महरा जी– फर्गेट यस्टर्डे, फेस द फ्यूचर !

विनोद ढकाल २०७६ फागुन ६ गते १०:३३

-विनोद ढकाल

समर्थनमा उत्रिने, माला लगाइदिने र न्यायको भजनगान गाउनेहरूलाई डिल्लिबजार सदरखोरबाट निस्कँदै गर्दा पूर्वसभामुख कृष्णबहादुर महराले भने– अब केही रहस्य खोल्दै जानेछु ।

रहस्यको थुप्रोमा उभिएर पूर्पक्षसम्म पुगेका महरालाई लिन गएका अर्काथरी अरिंगालले नारा लगाए– महरा जिन्दावाद, एमसीसी मुर्दावाद । यो नाराको आन्तर्यचाहिँ एमसीसी महराले रोकेका कारण नै उनलाई रोशनी शाहीले लगाएको बातमा सरकारले जेल हाल्यो भन्ने थियो ।

तर जिल्ला अदालतले दिएको यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय उच्च अदालतमा जाने निर्णयसहितको जानकारी पनि बाहिर आएको छ । यसकारण महरा शाहीसँगको अन्तरविलास प्रकरणमा सर्वथा उन्मुक्त भएका होइनन् । यसकारण पहिलो सुझाव छ– फेस द फ्यूचर !

बुर्जुवा शिक्षाविरुद्ध मास्टरी पेशा गर्दागर्दै क्रान्तिमा लागेका नेताले सामाजिक विचलनको यो खरो मुद्दामा एक सय तीन दिन थुनामा बस्नुपर्ने नियतीले नै नियतको व्याख्या गर्छ । अर्को कुनै कारण नै चाहिन्न । सत्ता र शक्तिको आडको वरिपरि झन्डै अढाई दशकदेखि घुमिरहेकी एक महिलाको नियत वा उसको उपयोग यसै आउँदैन, हुँदैन जबसम्म शक्तिको विन्दुमा उभिएको मानिसको झुकाव हुँदैन । त्यसैले त घटनाबारे व्यापक बहस चलिरहेका बेला सम्बन्धित महिलाको मोबाइलमा एम सरको म्यासेज आउँछ– फर्गेट यस्टर्डे !

यहि म्यासेज थियो महरालाई पूर्पक्षका लागि थुनामा पठाउने दशी प्रमाणहरू मध्येको एउटा झिल्को । यो झिल्को उनले उठाएको कम्युनिस्टको झन्डाको प्रभावभन्दा पनि तेज भयो । केही दिनमा नै जेलसम्म पठाउने । यहि झिल्कोलाई कारण देखाउँदै कतिपयले भने– पीडितलाई होस्टाइल गरियो ।

अब, पीडित भनिएकी पीडित बनाइएकी थिइन् या थिइनन् त्योचाहिँ अझै बहसमा नै छ । शाहीले भनेकी छन्– म पीडित भएकी थिइन, महरा सर निस्कँदा न्याय पाएको महशुस भयो ।

गत १२ असोजको साँझ शाहीको सुविधानगरस्थित डेरामा पुगेरै बलात्कार प्रयास तथा कुटपिट भएको विवरण आएपछि महरा प्रकरणले १३ असोजमा व्यापकता पायो । महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निश्कर्ष निकाल्यो ।

१४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन राय दियो । त्यहि सचिवालयका दुई नेता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले उनलाई कारागारबाट निस्कँदै गर्दा बधाई पनि दिए ।

महराले सभामुख पदबाट राजीनामा दिए, सांसद पदबाट दिएनन् । पीडित भनिएकी महिलाले अदालतमा पनि बलात्कार प्रयास नभएको बयान दिएकी थिइन् । डिल्लीबजार कारागारमा रहेकै अवस्थामा महरा उच्च अदालतमा पुगे, उच्चले जिल्लाको आदेश सदर गरी मुद्दाको अन्तिम फैसला छिटो गर्न आदेश दियो ।

बलात्कार प्रयास आरोपमा जिल्ला अदालत काठमाडौंबाट सफाई पाएका पूर्वसभामुख महराले भोगेका पूर्पक्षका रातहरू सम्झँदै फेरि भन्नुपर्छ– फर्गेट यस्टर्डे ! अर्को विकल्प छैन । तर बाहिर बसेका आम मानिसले अब महरामाथि सरकारले गर्न सक्ने उपल्लो अदालतको छेडखानीका लागि भन्नुपर्छ– फेस द फ्यूचर

महराका लागि यो प्रकरण राजनीतिक करिअर नै डामोल बनाउने कारण बनेको छ । सदनमा सांसदका हैसियतमा उनको प्रवेश भए पनि योबीचमा सभामुख पदमा उनका सहकर्मी अग्नीप्रसाद सापकोटा निर्वाचित भइसकेका छन् । महराको राजनीतिक जीवन उठ्ने अर्को सम्भावना सामाजिक रूपमा भने निक्कै तल गिरेको छ ।

महरा प्रकरण चलिरहेका बेला उनले ति महिलालाई निरन्तर एसएमएस गरेका थिए । यसले उनी ति महिलाका निवासमा पुगेकोचाहिँ पक्कापक्की भएकै थियो । त्यतिमात्र होइन शाहीले महराले आफूलाई गरेको दुव्र्यवहारका बारेमा तत्कालिन उपसभामुख शिवमाया तुम्बाहाम्फेलगायत नेपाली कांग्रेसका कतिपय सांसदलाई पनि भनेको बताएकी थिइन् ।

कानुनी रूपमा न्याय पाए पनि महराबारे सामाजिक रूपमा अर्कै चित्र र बिम्ब बनिसकेको छ । नेपालको कानुनी चित्रलाई पद र शक्तिको आडमा फैसला गराउन सक्ने आवरणमा बुझिन्छ । बलात्कार प्रयास आरोपमा जिल्ला अदालत काठमाडौंबाट सफाई पाएका पूर्वसभामुख महराले भोगेका पूर्पक्षका रातहरू सम्झँदै फेरि भन्नुपर्छ– फर्गेट यस्टर्डे ! अर्को विकल्प छैन । तर बाहिर बसेका आम मानिसले अब महरामाथि सरकारले गर्न सक्ने उपल्लो अदालतको छेडखानीका लागि भन्नुपर्छ– फेस द फ्यूचर ।

अदालती कारबाहीमा आएका दलील र प्रमाणको आधारमा उनले छुटकारा पाए पनि मिडियालगायतमा आएका कतिपय विवरण र इभिडेन्सलाई उनको नियत वा नियतीको कसीमा राखेर व्याख्या भइरहनेछ । उनले आफूलाई कारबाही गरिनु कुनै सुसुप्त कारणको संकेत गर्दैगर्दा राजनीतिक विवादमा तानिएको सन्दर्भ गौण हुन सक्ला र ? उनलाई लागेको ५० करोडको बातमाथि छेडखानी नहोला र ?

दुनियाँ निक्कै क्रुर छ महरा जी, उसले हिजो जनयुद्धमा भएका विविध घटनाको क्षतिपूर्ति खोजीरहेको छ । प्रश्न माथि प्रश्नको उरुङ लगाइरहेको छ । यस विषयमा पनि जवाफ दिनुपर्ने अवस्था आउन सक्छ ।

यद्यपि, सम्मानित जिल्ला अदालतले जुन प्रमाणमा टेकेर महरालाई निर्दोष रहेको फैसला सुनाएको छ, त्यसमाथि टिप्पणी हुँदैन । तर सामाजिक मनोविज्ञान, समाजले बनाएको चित्र र त्यसमा टिप्पणी र व्याख्या भएका क्रुर चित्र, हिजो ताली पड्काउनेले आज लगाएको जय जयकारको नारा, हिजो राजीनामा गराउनका लागि सुझाव दिनेले आज दिएको बधाईको हिसाबकिताबमा प्लस माइनस नहोला र ?

जीवनका पूर्वाद्धमा गरेका अनेक विषयले उत्तरार्धलाई निक्कै कठिन र कठोर बनाउन सक्छ । धर्मग्रन्थमा नै यो विषयमा प्रष्ट उल्लेख छन् । त्यो विज्ञान र मनोविज्ञानको परिणामको एउटा संकेतमा उभिनुपर्दा कस्तो लागिरहेको छ ? आज हाँसेर बाहिर निस्किए पनि निचोरिएको मनलाई सोध्ने हो की ?

दुनियासँग जिते देखाउनुभन्दा मन, बचन कर्म र परिवारका हरेक सदस्यसँगको आत्मबललाई जितेको राम्रो हुन्छ । अन्ततः जय भएको छ, जय हुँदै जाओस्, शुभकामना ।

प्रतिक्रिया
सम्बन्धित