
काठमाडौं, ६ फागुन । पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार दिउँसो काठमाडौं जिल्ला अदालतले सफाइ दिएसँगै उनका सहयोगी र शुभेच्छुकहरू डिल्लीबजार कारागारबाहिर भेला भइसकेका थिए । सत्तारूढ नेकपाका हिमाल शर्मालगायत नेता–कार्यकर्ता महरालाई स्वागत गर्न फूलमालासहित पुगेका थिए ।
सफाइ पाएका महरालाई करिब ३ बजेतिर अदालतबाट सिधै कारागारको ‘क’ ब्लकमा लगियो । त्यहीं रहेका पूर्वआईजीपी रमेश चन्द ठकुरी, सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालालगायतले ‘बधाई छ हजुर’ भन्दै उनलाई स्वागत गरे ।
चन्द सुडान घोटाला प्रकरणमा र पूर्वडीआईजी कोइराला पत्नी गीता ढकालको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका छन् । करिब ५० जना अट्ने ‘क’ ब्लकको हलमा चन्द र कोइरालासँगै महरा १३३ दिन बसेका थिए ।
दुवै पूर्वप्रहरी अधिकृत उनका रुम पार्टनर थिए । कैदीबन्दीले सोमबार ‘पहिलो पटक महरालाई मुस्कुराएको देखेको’ भन्दै मुखामुख पनि गरे । कहिलेकाहीँ मात्रै घरबाट ल्याएको खाना खाएका महराले यो अवधिमा अधिकांश समय कैदीबन्दीबाट सञ्चालित मेसमा खाना खाएका थिए ।
आफूलाई खाना खुवाउनेदेखि भेटिएका सबैप्रति उनले छुट्ने बेला सहानुभूति देखाए । महराले ‘यो अवधिको बसाइ अविष्मरणीय रह्यो, तपाईंहरूले गर्नुभएको सहयोग र मप्रति देखाउनुभएको सद्भावप्रति धन्यवाद दिन चाहन्छु’ भने । त्यति भनिसकेपछि पूर्वआईजीपी चन्द र पूर्वडीआईजी कोइरालाले खादा ओढाएर बिदाइ गरे । जेलमा ल्याउँदा पनि चन्दले उनलाई स्वागत गरेका थिए ।
२०६८ जेठ १८ मा आईजीपी चन्दलाई जिम्मेवारीबाट मुक्त गरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा ल्याउने प्रस्ताव उनै महराले गरेका थिए । त्यसमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सहमति जनाएका थिए । प्रधानमन्त्री खनाल र गृहमन्त्री महराको सल्लाहमा चन्दलाई आईजीपीबाट हटाइएको थियो । एक कर्मचारीका अनुसार घर जानुअघि महरा निकै खुसी देखिएका थिए ।
अदालतले सफाइ दिएपछि उनलाई जेलर अरुण पोखरेलको कार्यकक्षमा लगियो । जहाँ कान्छा छोरा राहुल महरा पर्खिरहेका थिए । जेल प्रशासनमा उनलाई छुटाउने प्रक्रिया चलिरहँदा बाहिर उनको समर्थनमा ठूलो भीड जम्मा भइसकेको थियो ।
२०७६ कात्तिक १८ मा महरालाई पुर्पक्षका लागि कारागार ल्याइएको थियो । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाएको थियो । छोरा राहुलले नै उनलाई जेलसम्म पुर्याएका थिए । जेलर पोखरेलले प्रक्रिया पूरा गरेर उनलाई छोराको जिम्मा लगाए । अदालतबाट आएको सवा घण्टापछि बाहिर निस्कँदै गर्दा महराले जेलर पोखरेललाई भने, ‘घरमा जसरी नै बसियो, राम्रो व्यवहार गर्नुभयो, निकै खुसी छु ।’
महरालाई अघि लगाउँदै छोरा राहुल कारागारबाहिर निस्किए । त्यही बीचमा महराले ‘प्रहरी साथीहरू, माननीय रेशम चौधरीलगायतसँग राम्रोसँग बसें, सबैबाट राम्रो व्यवहार भयो, बाँकी कुरा पछि भन्छु’ भने । पार्टीका नेता–कार्यकर्ता र शुभेच्छुकसँग खुसी साट्दै उनी बा१८च ४०० नम्बरको गाडीमा छोरासँगै खुमलटारस्थित डेरातर्फ लागे । कान्तिपुर दैनिकबाट











प्रतिक्रिया