काठमाडौं, ५ फागुन । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले धरानस्थित वीपी कोइराला विज्ञान स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिको नियुक्ति गर्न सकेका छैनन् । निक्कै अघि खाली भएको उक्त पदमा कोही पनि नियुक्त गरिएन, बरु त्यसका लागि उम्मेदवारलाई दरखारस्त आह्वान गरियो । १६ जनाको दरखास्त परेको थियो ।
१६ जना मध्येबाट तीन जनाको नाम सरकारलाई सिफारिस भएको छ । तैपनि मन्त्रिपरिषद्ले उपकुलपतिका लागि खास नाममा सहमति जुटाउन सकेको छैन । सत्तारुढ नेकपानिकट नै रहेका तीन जनामा कसका मानिसलाई बनाउने भन्ने विवाद कायम रहेको उच्च स्रोतले जनाएको छ ।
यद्यपि अहिले कार्यबाहक उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका वीपीको रेक्टर गुरु खनालका नाममा धेरै नेताले लविङ गरेका छन् । उनी उत्तम उम्मेदवार, वीपी प्रतिष्ठानको नेतृत्वका लागि सक्षम भएको भन्ने सुझाव र रायसहितका पत्र प्रधानमन्त्री तथा नेकपाको मुख्यालयमा पनि पठाइसकिएको छ ।
नेकपाको धरान नगर कमिटीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्न पठाएको पत्र बाहिरिएको पनि छ ।
उपकुलपति डा. राजकुमार रौनियारलगायतका पूर्वपदाधिकारी भ्रष्टाचार अभियोगमा अख्तियारले मुद्दा दायर गरेपछि लामो समयदेखि प्रतिष्ठानको नेतृत्व गरेका डा. गुरु खनाले कार्यबाहक उपकुलपतिको काम कारबाही गरिरहेका छन् ।
खनालसहित डा. सन्जिव शर्मा र डा. ज्ञानेन्द्र गिरीको नाममा पनि विभिन्न तहबाट लविङ भइरहेको छ । शर्मा हाल वीपीमा नै कार्यरत छन् भने गिरी भर्खरै नेकपामा प्रवेश गरेका पूर्वकांग्रेस हुन् । ‘सबै तिरबाट हेर्दा खनाल जत्तिको उपयुक्त उम्मेदवार भेटिएको छैन । उहाँदलाई नियुक्त गर्न सरकारले किन विलम्ब गरेको हो, पत्तो पाउन सकिएन, त्यहि भएर पत्र पुगेको हुनुपर्छ’, नेकपा स्रोतले भन्यो ।
त्यसो त निमित्त र कार्यबाहकको जिम्मेवारी पाएका खनाललाई निक्कै अघि उपकुलपतिको जिम्मेवारी दिनुपर्ने थियो । तर सरकारले त्यसमा खासै चासो नदिनुको पछाडि अन्यले पनि राम्रो लविङ र चलखेल गरिरहेको हुनसक्ने अनुमान गरिएको छ । वीपी पूर्व क्षेत्रकै लागि ठूलो अस्पतालका रुपमा हेरिएको छ । भारतीय सहयोगमा निर्माण भएको उक्त अस्पतालले जनकपुरदेखि झापासम्मका विरामीलाई सेवा दिँदै आएको छ ।











प्रतिक्रिया