शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

वीपी प्रतिष्ठानको उपकुलपति नियुक्ति : त्यसबेला अपहरण गराउने कांग्रेसका शर्मा गिरीविरुद्ध लविङमा

दैनिक नेपाल २०७६ फागुन ४ गते ११:१०

काठमाडौं, ४ फागुन । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिमा नेपाली कांग्रेस सम्बद्ध नोबेल मेडिकल कलेजका प्रबन्ध निर्देशक सुनिल शर्मा प्रस्तावित डा. ज्ञानेन्द्र गिरीविरुद्ध लविङमा उत्रिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीलाई बनाउने तयारी गरेपछि शर्माले नेकपाको पूर्वमाओवादी खेमालाई समातेर गिरीलाई रोक्न राजनीतिक रुपमा नै लविङ गराएका हुन् ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई उपल्लो तहमा लविङका लागि सक्रिय देखिएका शर्माले गिरीको विकल्पमा अरुलाई बनाउनका लागि स्थानीय तहमा पनि पूर्वमाओवादी खेमालाई उपयोग गरिरहेको स्रोतले जनाएको छ ।

शर्मा तिनै हुन् जसले नोबेल मेडिकल कलेजको सञ्चालक समितिबाट डा. गिरीलाई हटाउन र शेयर जफतका लागि तत्कालिन माओवादीको प्रयोग गरी अपहरण गराएका थिए । डा. गिरीलाई त्यसबेला नेपाली कांग्रेसले पनि सहयोग नगरेपछि चुनाव अघि उनी तत्कालिन एमालेमा प्रधानमन्त्री ओलीमार्फत नै प्रवेश गरेका थिए ।

शैक्षिक, सामाजिक र चारित्रीक हिसाबले पनि गिरी उपयुक्त पात्र रहेको भन्दै मोरङका नेकपाका कतिपय नेताले प्रतिष्ठानको उपकुलपतिमा गिरी नै हुनुपर्छ भन्ने मत राख्दै आएका छन् । प्रधानमन्त्री ओलीसमक्ष पनि गिरीको प्रस्ताव गरिएको छ ।

अन्तर्राष्ट्रिय छात्रवृत्ति कोलम्बो प्लानमा आईएसी पास गरी तत्कालिन नेपाल सरकारले इमान्दार विद्यार्थी भएको भन्दै गिरीलाई चिकित्सा शिक्षा अध्ययनका लागि भारत पठाएको थियो ।

अल इन्डिया इन्सिट्च्युट अफ मेडिकल साइन्स (एम्स)मा उत्कृष्ट अध्ययन गरेका उनलाई सोही इन्सिट्च्युटमा फ्याकल्टी अध्यापनका लागि प्रस्ताव भएको थियो । तर देशका लागि नै स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्छ भनी उनी नेपाल फर्किएका थिए ।

स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्न खोजे पनि उनी राजनीतिक खिचातानी र षडयन्त्रको घेराबन्दीमा पर्दै आएका छन् । नेपाली कांग्रेसको राजनीतक पृष्ठभूमीमा गिरीलाई आन्तरिक रुपमा निक्कै घेराबन्दीमा पारिएको थियो ।

‘सहन नसक्ने अवस्था आए पनि उहाँ जत्तिको इमान्दार मान्छेले तत्कालिन एमालेको सहारा लिनुभयो । अहिले उहाँको योगदानलाई कदर गर्न लाग्दा पनि रोक्ने हरप्रयत्न भइरहेको छ’, उच्च स्रोतले भन्यो ।

सम्भवतः सोमबार (भोली) बस्ने मन्त्रिपरिषद्को बैठकले अन्तिम तीन जनाको नाम मध्येबाट वीपीको उपकुलपतिको नियुक्ति गर्नेछ । त्यसमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानमन्त्री ओली गिरीको नाममा सकारात्मक रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित