शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

उपत्यका प्रहरी प्रमुख डिआईजी पोखरेलले अफिसरहरूलाई भने– आफ्नो विकल्प छैन भन्ने अहम् नपाल्नू

दैनिक नेपाल २०७६ फागुन ४ गते १०:२९

काठमाडौं, ४ फागुन । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) विश्वराज पोखरेलले मातहतका प्रहरी प्रमुख र अफिसरलाई इमान्दारीताका साथ कर्तव्य पालन गर्न निर्देशन दिएका छन् ।

उपत्यकाका तीन जिल्लाको कमान्डर रहेका डिआईजी पोखरेलले काठमाडौं, ललितपुर, भक्तपुरका प्रहरी प्रमुख तथा अफिसरसहित महानगरीय ट्राफिक प्रहरी प्रमुख, महानगरीय अपराध महाशाखाका प्रमुखसमेतलाई राखी शनिबार साँझ यस्तो निर्देशन दिएका हुन् ।

उनले भने,‘ड्युटी परिचालनमा कमी कमजोरी देखिए ठाउँको ठाउँ तपाईको कमाण्डको लज्जा देखाउने छु र कारवाही गर्ने छु ।’

आफूले गरेको कामको परिवर्तन भयो या भएन भन्ने विषयमा विश्लेषण गरेर अगाडि बढ्न निर्देशन दिएका डिआइजी पोखरेलले थपे,‘तपाईको विकल्पमा अरू कोही छैन भन्ने अहम कहिल्यै नपाल्नु होला । तपाई विशेष होरहोईन भन्ने कुरा तपाईको कार्यसम्पादनले, शान्ति सुरक्षामा ल्याएको परिवर्तनले निर्धारण गर्दछ ।’

उपत्यकाको प्रहरीलाई ‘वाह’ बनाउने काममा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका उनले परिणामुखी काम गर्दै नागरिक, राज्यसंयन्त्र र सरकारका अघि उदाहरणको रूपमा प्रस्तुत गर्न सक्ने गरि परिणाममुखी कार्य सम्पादन गर्न पोखरेलको निर्देशन थियो ।

शान्ति सुरक्षाका हिसाबले सरकारको पहिलो तस्बिर प्रहरी नै रहेको बताएका उनले आफ्नो अपेक्षा र मातहतका प्रहरी निकायका कामको मिलन हुन नसकेको सुनाए । ‘मैले पटक–पटक भन्ने गरेको छु की परिणाममुखी कार्यसम्पादन गर्नुहोस्, आफूले गरेको कार्यको अभिलेखिकरण गर्नुहोस् तर तपाईहरूले त्यो गरिरहनु भएको छैन ।’

उनले जोडे,‘भविष्यमा संगठन हाक्छु, शान्ति सुरक्षाको नजरमा संवेदनशील काठमाडौंका विभिन्न युनिटहरूको कमाण्ड गर्छु भन्ने तर सो अनुसारको परिवर्तन ल्याउन नसक्ने, काम गर्न नसक्ने, प्रस्तुती दिन नसक्ने कुरा मान्य हुनेछैन ।’

डिआइजी पोखरेलले काठमाडांैका विभिन्न कार्यालयहरूको प्रमुखको रूपमा जिम्मरवारी दावी गर्ने तर संगठनको ‘स्पििरट’अनुसार कार्यसम्पादन नगर्ने, जनभावनाअनुसारको शान्ति सुरक्षा कायम गर्न नसक्ने, परिणाम दिन नसक्ने परिस्थिति रहँदा रहँदै पनि ‘त्यस्तो के चुम्बकीय शक्ति छ जसले तपाईलाई उक्त जिम्मेवारीबाट हट्ने ईच्छा पनि हुँदैन ?’ भन्ने प्रश्न गर्दै थपे,‘त्यसको खोजी हुन्छ ।’

शान्ती सुरक्षा कायम गर्न, प्रतिबन्धित गतिबिधि नियन्त्रण गर्न, नागरिकको मन जित्ने कार्यमा हालसम्म के–के उपलब्धि प्राप्त गरियो र त्यसमा तपाईको योगदान कहाँ छ भन्ने पनि खोजीने पोखरेलको भनाई थियो ।

उनले कडा शव्दमा जोडे,‘प्रभावकारी कार्य सम्पादनका लागि सँधै परजीविझंै परिसर प्रमुख, महाशाखा प्रमुख र मेट्रो प्रमुखको मात्र मुख ताक्ने प्रवृत्ति हटाउनुहोस् । तपाईको वृत्त तपाईको मुठ्ठीमा हुनु पर्छ ।’

उनले उपत्यकाभित्रका विभिन्न युनिटका कमान्डरप्रति लक्षित हुँदै भने,‘मैले विभिन्न समयमा भिन्न भिन्न विषयमा मौखिक तथा लिखित रूपमा निर्देशन सम्बोधनहरू गरें तर अहिलेको कार्यप्रगतिको अवस्था नियाल्ने हो भने ति निर्देशनहरूलाई कमान्डरहरूले हल्का रूपमा लिएको महशुस गरेको छु । याद गर्नुहोस् ति निर्देशन मेरा व्यक्तिगत होईनन् सांगठनिक निर्देशन हुन् । त्यसलाई पालना गरेर नतिजा दिन नसक्ने अधिकृतहरूले त्यसको मुल्य चुकाउनुपर्ने छ ।’

उनले साना दर्जाका प्रहरी अधिकारीका विषयलाई महत्वका साथ लिनका लागि निर्देशन दिए । भने,‘ टिम स्पिरिटमा कार्य गर्ने प्रवृत्ति बसाउनुस्, हबल्दार जवानको गुनासाहरुको सम्बोधन गर्दै सांगठनिक उद्देश्य प्राप्तका लागि साथसाथै लिई अगाडि बढ्नुहोस् ।’

नेकपा नेत्रविक्रम चन्द समूहको गतिविधिप्रति पनि संकेत गर्दै उनले प्रतिबन्धित विभिन्न समूहका कार्यकलापको विषयमा गम्भिरताका साथ लाग्न निर्देशन दिएका डिआइजी पोखरेलले थपे,‘अहिले सुधारको विकल्प छैन । आज मेश निर्माणबाट सुधारको सुरूवात गरेका छौ, हाम्रो सुधारको अभियानबाट सरकार प्रभावित भएमा भोली बजेट व्यवस्थापन सहज हुन्छ । सुधारको प्रयत्न नै नगरे सरकारले हामीलाई के आधारमा बजेट दिन्छ बुझ्न जरूरी छ ।’

प्रतिक्रिया
सम्बन्धित