शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

तत्कालिन माओवादी लगाएर अपहरण गराइएका डा. गिरी  वीपी प्रतिष्ठानको उपकुलपतिमा अब्बल स्पर्धी

दैनिक नेपाल २०७६ फागुन १ गते ११:११

काठमाडौं, १ फागुन । साधगी जीवन, सेवाभाव र गरिबप्रति स्वास्थ्यमा समर्पित रहेको छवि बनाएका छन् विराटनगरका डा. ज्ञानेन्द्र गिरीले ।

नेपाली कांग्रेसका सुनिल शर्माले नोबेल मेडिकल कलेजको सञ्चालक समितिबाट हटाउनका निम्ति तत्कालिन माओवादी छापामारको प्रयोग गरी अपहरण गराएका गिरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका अब्बल स्पर्धी हुन् ।

उनी तत्कालिन एमालेमा अध्यक्ष केपी शर्मा ओलीमार्फत आवद्ध भएका थिए । प्रधानमन्त्री तथा वीपी कुलपतिका रुपमा ओली रहेका बेला डा. गिरी वीपीको उपकुलपतिका लागि अन्तिम तीन मध्येका अब्बल स्पर्धी पनि हुन् ।

‘नेपाली कांग्रेसमा रहेका सुनिल शर्माले निक्कै दुख दिएका थिए । तत्कालिन माओवादी छापामारको प्रयोग गरी गिरीको अपहरण गराइयो र नोबेल मेडिकल कलेजबाट निकालियो’, जानकारहरू भन्छन् ।

पूर्व क्षेत्रमा मात्र नभई देशैभरीमा डा. गिरीको चिकित्सा क्षेत्रमा दिएको योगदानको चर्चा हुने गरेको छ । तर चर्चाबीच रहे पनि उनले भनेजस्तो शालिनतापूर्वक नेतृत्व लिएर कुनै काम गर्न पाएका छैनन् । राजनीतिक आड र गुन्डागर्दीका भरमा उनले पाएका जिम्मेवारी खोसिँदै गएपछि सुरक्षित हुनका लागि ओलीकै हातको टिको लगाएर तत्कालिन एमालेमा उनी छिरेका थिए ।

हाल प्रतिष्ठानको उपकुलपतिका लागि योग्य ठानिएका गिरीप्रति प्रधानमन्त्री ओली सकारात्मक रहेको बताइएको छ ।

विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा २०४३ सालमा उपसचिव स्तरको डाक्टरबाट आफ्नो करिअर सुरु गरेका गिरीको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग माधुर्य सम्बन्ध नरहेको बताइन्छ । सोही कारण पनि सुनिल शर्माले उनलाई पेल्न सजिलो भएको थियो । हाल शर्मा कोइरालाका विश्वासपात्र मानिन्छन् ।

२०४६ मा प्रजातन्त्रको पुनःस्थापनापछि अकस्मात् शक्तिशाली भएका डा. कोइरालाले आफूलाई हदैसम्म पेलेको र दुःख दिएको अनुभव डा. गिरीले सुनाउने गरेका थिए ।

तत्कालीन स्वास्थ्य मन्त्री डा. रामवरण यादवलाई दबाबमा पारेर डा. कोइरालाले आफूलाई २०५० सालमा सहसचिव स्तरमा बढुवा हुन रोकेको र उल्टै विराटनगरबाट भद्रपुर अस्पताल सरुवा गरेको अनि २०६४ मा सचिव हुन नदिएको नमिठो अनुभव डा. गिरीसँग छ ।

‘कति सधैँ पीडित भइरहने?’ मुटुरोग विशेषज्ञ एवम् चर्चित फिजिसियन डा. ज्ञानेन्द्रको भनाइ थियो, ‘कतै न कतैबाट सुरक्षित हुनु आवश्यक हुँदो रहेछ । त्यसैले यो निर्णय गरेँ ।’

डा. गिरीले करिअरमा सुरक्षित गर्ने र आफ्नो योग्यतालाई चिन्न सक्ने भएकाले तत्कालिन एमालेमा छिरेको बताएका थिए । उनी हाल सत्तारुढ नेकपाकै स्वास्थ्य विभागको विशेष व्यक्तिका रुपमा मानिन्छन् ।

प्रतिक्रिया
सम्बन्धित