बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रहरीप्रति गृहसचिव न्यौपानेले घुमाउरो असन्तुष्टि राख्नुको अर्थ

दैनिक नेपाल २०७६ माघ २९ गते १४:५३

काठमाडौं, २९ माघ । उपल्ला तहका प्रहरी अधिकारीसँग गृहसचिव महेश्वर न्यौपानेले घुमाउरो असन्तुष्टि व्यक्त गरेका छन् । गृह प्रशासनको उपल्लो दर्जामा रहेका सचिव न्यौपानेले नेपाल प्रहरीमा देखिएको यो स्पर्धा गलत भएको रणनीति भाषामा बुधबार सम्झाउने कोसिस गरेका छन् ।

नवनियुक्त आईजी ठाकुर ज्ञवालीलाई दज्र्यानी चिन्ह लगाएपछि बोलेको न्यौपानेले केही दिनका दौडधुप र अन्य समयमा बाहिर आएका सूचनाका आधारमा यस्तो असन्तुष्टिलाई पोख्ने जमर्को गरेका थिए ।

प्रहरी प्रमुख नियुक्तिका बेला विविध प्रकारका तयारी र प्रस्ताव हुने गर्छन् । राजनीतिक हस्तक्षेप र सुझावसम्म सुनेका सचिव न्यौपानेले नयाँ आईजी प्रस्तावका क्रममा देखेका चलखेललाई संकेत गर्दै भने,‘प्रहरीका माथिल्लो दर्जाका साथीहरूमा अलिकति प्रतिस्पर्धात्मक भावना बढी भएको पाएँ ।’

भर्खरै गृह मन्त्रालयको जिम्मेवारीमा आएका सचिव न्यौपानेले यस्तो स्पर्धाका कारण प्रहरी संगठनमा चेन अफ कमान्डमा पनि समस्या आउन सक्ने ठानेका छन् । सिनियरलाई बाइपास गर्ने प्रचलन रहेको पनि बुझेका उनले भनिदिए,‘कसैलाई उछिन्छु भनेर दौडिनेभन्दा पनि व्यवसायिक कामतिर बढी ध्यान दिनु जरुरी छ । सधैं आफ्ना विषयमा चिन्तन गर्दा संगठनका विषयमा हामी कतै अलिकति कम सोच्ने त भएका छैनौं ?’

उनले प्रहरी अधिकारीलाई केही सुझाव पनि दिएका छन् । उनको गृह सचिव रहुन्जेलको कार्यकालको मापदण्डका रूपमा पनि अर्थ लगाउन सक्नेगरी न्यौपानेले भने,‘आफ्ना कुरा चेन अफ कमाण्डअनुसार आफूभन्दा उपल्ला तहका अधिकारीसँग राख्ने र धेरै दौडधुप नगर्ने परिपाटी अवलम्बन गर्नु हुन सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछु ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हालै मात्र सरकारले सचिव न्यौपानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिएको थियो । न्यौपानेको कार्यकौशलताका कारण नै उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा गृह मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

कतिपय अधिकारीले गृहसचिव न्यौपानेको कार्यकालमा मातहतमा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूले नीति र पद्दतीअनुसार नै कामको दबाबमा रहनुपर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित