बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

नयाँ आईजी ज्ञवालीको कार्यकाल प्रक्षेपण : २८औंको खोजी मात्र नहोस्

विनोद ढकाल २०७६ माघ २८ गते १८:५२

अब प्रहरीका प्रत्येक युनिटमा कम्तिमा एक सय ४३ दिन ठाकुरप्रसाद ज्ञवालीको तस्बिर झुन्डिनेछप्रहरी महानिरिक्षक भनेर । खासमा एक सय ५० दिनको गिन्ती हुनुपर्ने हो । तर जसरी निवर्तमान आईजी सर्वेन्द्र खनालको २८ माघ अन्तिम थियो, आउने २४ असार ज्ञवालीको अन्तिम दिन हुनेछ, कार्यावधिको ।

असारका ति अन्तिम ७ दिनको काउन्ट डाउन हुनेछैन । त्यसको गणना २८ औं आईजीले गर्नेछन्, यसबीचमा प्रहरी नियमावली र ऐनमा सरकारले कुनै संशोधन नगरेको खण्डमा । संशोधन गर्न सके, ज्ञवालीको उपलव्धी हुनेछ र उनले संगठनको हाँक कत्तिको गर्नेछन् भन्ने असार अन्तिम साता नै विश्लेषण हुनेछ ।

सरकारको यहि नियतीको दौड हुने हो भने आईजी भएका बखत ज्ञवालीले प्रहरी दिवसमा सम्बोधन गर्न पाउने छैनन्, कतिपयका छातिमा मेडल टल्काइदिन पाउने छैनन्, अमर वीर सहिदका प्रतिमामा प्रहरी दिवसको माला लगाउन पाउने छैनन् ।

ज्ञवाली कत्तिको प्रखर, संगठन चलाउने रणनीतिका माहिर छन्, यसबारे खबर छैन । यसैले उनको कार्यकौशलता आगामी दिनमा विचरण हुने नै छन् ।

सर्वप्रथम बधाई र शुभकामना !

अब नेतृत्वको आवरण सुरु भएको छ । यो आवरण कुनै किताबको होइन । नागरिक सुरक्षा, संगठनात्मक संरचनाको चलायमान अवस्था, जिल्लाजिल्ला र हरेक निकायमा दक्ष अफिसरलाई जिम्मेवारीसहितको हो । २९ बर्ष ७ महिना यसै संगठनमा बिताइसकेका कारण ज्ञवालीलाई यस विषयमा राम्रै ज्ञान छ, सीप पनि छ । प्रहरी निरिक्षकमा भर्ती हुँदा देखेको त्यो उचाईको विन्दुमा उभिएका बेला हर्षविभोरता एकातिर छ, अर्कातिर जिम्मेवारीको बोझ पनि, भलै थोरै अवधि होस् ।

विनोद ढकाल

खनाल आईजी नियुक्त हुँदा संगठनको संरचना ध्वस्त थियो । लिकमा थिएन प्रहरी । चुनौतिका ठूला पहाड थिए । त्यसलाई पूरा गर्नुपर्ने उत्तरदायित्व थियो । तर समय पनि थियो । यो समयमा आधारभूत कामहरू भएका छन् । समष्टिगत रूपमा ति कामहरूलाई सोही लयमा गति दिए मात्र पनि नयाँ आईजी ज्ञवालीको कार्यकाल सुखद हुन सक्छ ।

तर प्रहरी संगठनको एउटा नेतृत्वलाई चौतर्फी दबाब पनि हुन्छ । सबैभन्दा ठूलो दबाब राजनीतिक दलका नेताको, सरकारका पदाधिकारीको, उपल्लो निकाय गृह मन्त्रालय र सरकारको प्रमुख निकाय प्रधानमन्त्री कार्यालयसम्मको ।

बाहिरी घेरा हुँदो रहेछव्यापारी, उद्यमी, आफन्त, नातेदार, कर्मचारी सहकर्मी, मानवअधिकारकर्मी र पत्रकारको । यी सबै क्षेत्रलाई सन्तुलित बनाउन सक्ने क्षमता ज्ञवालीमा कत्तिको छ, त्यसको विश्लेषण उनको व्यवाहारिक कामले देखाउला । उनलाई संगठनात्मक सहयोग वा असहयोग सहकर्मीबाट कत्तिको छ ? त्यो अर्को विषय हो ।

पूर्वप्रहरी महानिरिक्षक अच्युतकृष्ण खरेल भन्छन्,‘प्रहरी संगठन आईजीले चलाउने हो, अरु कसैले होइन । यसमा बलियो सन्देश छ । आईजी संगठनको प्रमुख हो, संगठनको हित वा अहितको विषयमा निर्णयकर्ता हो । प्रभावमा पर्न दिने या नदिने, दबाबमा बस्ने या नबस्ने भन्ने उसको अठोटमा निर्भर रहन्छ । ज्ञवालीका अगाडि च्वाइस् गर्ने अनेक अतिरिक्तताहरु छन् ।

यो ५ महिनामा संगठनलाई राजनीतिक हस्तक्षेपविहीन हिसाबले चलाउन खोज्दा कोही रुष्ट हुन्छ र पद जान्छ भन्ने त्रासदी छैन । यो अवधिमा कसैले केही गर्न सक्तैन । संगठनको हितानुकुल काम गर्न दृढता देखाए ‘ख्याउटे’ शारिरीक बनोटले इतिहास कायम गर्न सक्ने अवसर छ । स्मरण होस्, इतिहासमा पढिन्छ, जंगबहादुर पनि ख्याउटे नै थिए

ज्ञवालीको नियुक्तिसँगै संगठनको उच्च पद मात्र २२ रिक्त भए । तीन एआईजी निर्विकल्प बढुवा गर्नुपर्ने अनिवार्यतामा ज्ञवाली परेका छन् । उनी राजनीतिक दलको दबाबमा नै रहनेछन् । तीन एआईजी बढुवा उनको अनिवार्य काम हुनेछ । उनको कार्यकाल भन्दा पनि २८ औं आईजीको कार्यकालको आईजीलाई हेरेर सरकारले उनलाई निर्विकल्प बढुवा गरेको भन्नुमा कुनै अत्योक्ति नहोला, बजार चर्चालाई मान्दा ।

१८ डिआईजी बढुवा गर्नुछ । स्पष्ट स्पर्धा छ । चुनौति छन् । त्यसपछि खाली भएका एसएसपी बढुवा, उनकै कार्यकालका चुनौति हुन् । ५ महिना यी कामका लागि पर्याप्त छन् या छैनन् त्यो अर्को पाटो हो । त्यहाँ चुनौति र दबाब पनि उत्तिकै हुन सक्छन् ।

तर ज्ञवालीको कार्यावधि छोटो हुनुमा उनका लागि संगठनमा नाम राख्न सक्ने ठूलो अवसर छ । खासगरी ५ महिनाको अवधिका लागि आएका आईजीले राजनीतिक दबाब मान्नुपर्छ भन्ने अनिवार्यता छैन । उसले संगठनलाई आफ्नो अनुकुलतमा व्यावसायीक हिसाबले चलाउन सक्नेछ ।

यो ५ महिनामा संगठनलाई राजनीतिक हस्तक्षेपविहीन हिसाबले चलाउन खोज्दा कोही रुष्ट हुन्छ र पद जान्छ भन्ने त्रासदी छैन । यो अवधिमा कसैले केही गर्न सक्तैन । संगठनको हितानुकुल काम गर्न दृढता देखाए ख्याउटे शारिरीक बनोटले इतिहास कायम गर्न सक्ने अवसर छ । स्मरण होस्, इतिहासमा पढिन्छ, जंगबहादुर पनि ख्याउटे नै थिए ।

यो फौजी र चेन अफ कमान्डको संगठन भएकाले, लिक बाहिर जान खोज्ने या जानेका लागि जंगबहादुर बन्नुमा कुनै आपत्ति र अपराध हुनेछैन, काम गर्नका लागि दृढता देखाउनुमा कुनै दबाब र प्रभावको भर पर्नुपर्छ भन्ने छैन । यसअर्थमा ज्ञवाली सफल हुन सक्छन्, केवल तस्बिरमात्र हुनेछैन त्यसबेला तस्बिरभित्र आईजीको ताकतको बिम्ब पनि झल्किनेछ हरेक युनिटमा ।

अर्कोचाहिँ सतहमा रहेको चर्चाअनुसारको काम मात्र हुने जोखिम पनि छ । ५ महिना साधारण समय हो । यो समयमा देश दौडाहा भन्दा देशभरी छरिएको संगठनको गतिलाई ज्ञवालीले तिव्र बनाउनुपर्छ ।

उनी आईजी नियुक्त भए पनि उनीपछिको कार्यकालको विषयमा व्यापक चर्चा चलिरहेको छ । यो चलखेल उपल्लो तहबाट नै भएको पनि हुनसक्छ । संगठनभित्र नहुने कुरै भएन । आफ्नो कार्यकालमा संगठनभित्र चर्चा परिचर्चा र अवसरको खोजीनीतिका लागि होइन, कामका लागि हरेक प्रहरी अधिकारीलाई अभ्यस्त बनाउन सक्ने अवसर छ, यो अवसरको प्रयोग ज्ञवालीले गर्न सकुन् । अनि मात्र उनीपछि आउने २८ औंले पनि त्यस कामलाई लयमा उन्नेछ । संगठनको जिम्मेवारीबाट विदा हुँदै गर्दा गर्वले छाती फूल्नेछ, नयाँ आईजीको ।

प्रतिक्रिया
सम्बन्धित